सुन तस्करीमा पक्राउ परेका तिब्बती मुलका थुप्तेन छिरिङ खाग तस्करीमा पनि जेल परेको खुलासा

काठमाण्डौं– करिव ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङ गैडाको खाग तस्करीमा पक्राउ परेपछि सुन तस्करीमा लागेको खुलेको छ।

०६७ पुस १९ गते बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोलीले थुप्तेनसहित २ जना तिब्बतीयन नागरिकहरुलाई दुईटा गैंडाको खाग, डिजिटल तराजु र २० लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो।

खागको कसुरमा पक्राउ पर्दा उनले साथीले फसाएको बयान दिएका थिए। समय समयमा नेपाल आउने थुप्तेन नेपालगन्जको रानीतलाउस्थित न्यु नेपाल जडिबुटि सप्लायर्स नामको फर्ममा काम गर्ने र नेपालगञ्जबाट भारतमा जडिबुटी पठाउने काम गर्थे।

उक्त प्रकरणमा अदालतले थुप्तेनसहित तीन जनाको संलग्नता देखिएको ठहर गर्दै थुप्तेन छिरिङलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जले पनि ०७० वैशाख ३० गते उक्त फैसला सदर गरेको थियो।

तर सर्वोच्च अदालतले गैंडाको खाग तस्करीमा संलग्नता देखिएपनि गैंडा मार्ने कार्यमा उनीहरुको संलग्नता पुष्टि हुन नसकेको भन्दै आधा कैद घटाउने फैसला गरेपछि थुप्तेन छिरिङ र उनीसँगै पक्राउ परेका टासी नाम्डेललानई ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फैसला हुँदा उनीहरुले कैद भुक्तान गरिसकेको देखिँदा रिहा गर्न पनि आदेश दिएको थियो। सर्वोच्चको उक्त फैसलासँगै छुटेका थुप्तेनलाई अध्यागमन कार्यालयले पाँच वर्ष प्रतिबन्ध लगाएर देश निकाला गरेको थियो।

पुनः सुन तस्करीमा पक्राउ परेका थुप्तेनले आफूलाई चिनियाँ नागरिक लि वेन सुङले एक वर्ष पहिले नेपाली नागरिकको नाममा कम्पनी खोल्न लगाएको वयान दिएका छन्।

थुप्तेनले भन्सार एजेन्ट हर्कराज राईलाई यही कुरा भनेर कम्पनी दर्ताका लागि नेपाली नागरिक खोज्न भनेका थिए। छुङ्गाक इलेक्ट्रिक सप्लायर्स कम्पनी दर्ता गराएर इलेक्ट्रोनिक वस्तुहरु आयात गर्न थालेका थिए। थुप्तेनको भूमिका चिनियाँ नागरिकहरूलाई चाहिने सटर कोठा, घर, गाडी लगायतका व्यवस्थापकीय कार्य गर्नु रहेको पाईएको छ।

पैठारीको सुन बेचबिखनका लागि याओ पुचेङको निर्देशनमा हर्कराज राईलाई परिचालन गरी तीन वटा सवारीसाधानहरु भाडामा लिन लगाएको, सुन गाल्ने मेसिन ल्याउँदा उक्त मेसिन लिन हर्कराज राईलाई पठाएको र गोदामसम्म व्यवस्थापन गर्न पनि उनले नै परिचालन गरेको अभियोग छ।

उनले कीर्ते गरेर नेपाली नागरिकता र राहदानी समेत बनाएको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट