मन्दिर भत्काउन निर्देशन दिने प्रचण्ड कुन मुखले घुम्दैछन धार्मिक स्थल ?

राजविराज– सशस्त्र विद्रोह उत्कर्षमा हुँदा माओवादीहरु धर्मलाई अफिम भन्थे। तत्कालिन माओवादीका सुप्रिमो पुष्पकमल दाहालको नेतृत्वमा त्यसबेला धर्ममाथि भयंकर प्रहार भयो।

‘विकासको बाधक धर्म नै हो’ भन्दै सर्वसाधारणलाई धर्म नमान्न उर्दी जारी हुन्थ्यो। दाहालकै निर्देशनमा रामेछापमा कार्यकर्ताले गाई काटेर भोज खाए। केही ठाउँमा मन्दिर भत्काए। उदयपुरमा किरिया गर्न लाग्दा माओवादीले ढिकुरो भत्काइदिए, काजकिरिया गर्न दिइएन। माओवादीका कैयौँ कार्यकर्ताले पछिसम्म दसैँमा टिका लगाएनन्।

परम्परागत मान्यता भत्काउने भन्दै हिन्दुधर्मालम्बीहरु माथीको आस्थामाथि पाईला पाईलामा आक्रमण भयो। उनीहरु (जनसत्ता) को उर्दी अवज्ञा गर्ने दर्जनौँ मन्दिरका पुजारी कुटिए। आध्यात्मिक चेनताबाट समाज सुधार गर्ने अभियान चलाएका पण्डित नारायणप्रसाद पोखरेलको हत्या भयो।

माओवादीले आधिकारिक रुपमा जिम्मेवारी नलिएपनि ०६२ वैशाख २३ गते रुपन्देहीमा भएको हत्यापछि केही समय लगत्तै माओवादीका कार्यकर्ताले पत्रकारलाई टेलिफोन गरेर ‘सफाया गरेको’ सूचना सगौरव टिपाएका थिए । यति मात्रै होईन, रजश्वाला भएका महिलालाई मूर्तिहरूमा पिसाव फेर्न लगाउने, किरिया बसेकाहरूलाई घिसारेर हत्या गर्नेसम्मका हर्कत गरे।

यतिसम्मकी पहिलो पटक ०६५ र दोस्रो पटक ०७३ मा प्रधानमन्त्री बनेका दाहालले तत्कालीन राष्ट्रपतिले शपथ गराउँदा इश्वरका नाममा सपथ लिन समेत मानेनन्। ‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु’ भन्ने वाक्यांशमा उनले इश्वर हटाएर ‘म देश र जनताका नाममा शपथ लिन्छु’ भने।

तिनै दाहाल अहिले हिन्दुहरुका विभिन्न धर्मस्थल घुम्न थालेका छन्। आस्थाले होस वा आडम्वर नै किन नहोस, उनी हिन्दु धर्मप्रति नजिकिन चाहेको स्पष्ट हुन्छ। हालै चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बिहीबार हिन्दुहरुको पवित्र तीर्थस्थल मानसरोवर भ्रमण गरी कैलाश पर्वतको समेत दर्शन गरेका छन्।

दाहालको यो धार्मिक भ्रमणलाई धेरैले माओवादीलाई विजेपी (भारतीय जनता पार्टी) करण गर्ने दोस्रो चरणका रुपमा टिप्पणी गरेका छन्। भारतमा भारतीय जनता पार्टीले धर्मकै नाममा अहिले शासनसत्ता सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी कट्टर हिन्दुवादी हुन। त्यसैले आफुलाई भारतसँग नजिक देखाउन दाहालले कैलाश पर्वतबाट मोदीलाई सन्देश छोडेको हुन सक्ने धेरैको अनुमान छ।

उसो त, जेठ तेस्रो साता भारतको मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा दाहालले गेरुवस्त्र लगाएर नै पूजा गरेका थिए। त्यतिखेर पनि उनीमाथि माओवादीको बीजेपीकरण गर्न खोजेको आरोप लागेको थियो।

त्यहाँबाट फर्केर आएपछि उनी केही मन्त्रीको लावालस्कर नै लगाएर पशुपतिनाथ दर्शनमा गएका थिए। उज्जैनको महाकालेश्वरदेखि पशुपतिनाथ हुँदै कैलाश मानसरोवरसम्मको दाहालको धार्मिक यात्राको उद्देश्य आध्यामिक हो वा राजनीतिक हो पछि खुल्दै जाला। तर, उनले आफू पुरानो प्रचण्ड होइन, ‘सुधारिएको प्रचण्ड’ हो भन्ने कुरा सवैले बुझ्ने गरी देखाउन चाहेका छन्।

हुन त धर्म वा संस्कृति अँगाल्ने कुरा उनको निजी रोजाइ हो। तर, धर्मनिरष्ेक्ष मुलुकको प्रमुखका हैसियतले भ्रमणमा रहँदा एउटा धर्मप्रति कसरी आस्थावान हुन सक्छन भन्ने प्रश्न उठ्नु स्वभाविक हो। अझ धर्मको अस्तित्व नै स्वीकार नगर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रमुख हुन्, दाहाल। उनले आफ्ना कार्यकर्तालाई मन्दिर भत्काउन, पुजारी कुट्न, ढिकुरो भत्काउन, मुर्तीमा पिसाव गर्न र गाई काटेर खान दिक्षित गरेका छन्।

यद्यपी दाहालमा आएको यो परिवर्तनले कस्तो प्रतिफल देला त्यो भने हेर्न वाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट