आलुको बोराले यसरी खोल्यो सुन तस्करको पोल, भटाभट ११ किलो सुन पक्राउ

काठमाण्डौं– एक साता अघि विगु–१ लामाबगरका राज भनिने १८ वर्षीय पेम्बा तामाङले एउटा बोलेरो जिपलाई आफ्नो सामान लामावगरबाट चरिकोटसम्म लगिदिन भने।

बोलेरो चालकले आग्रह स्विकार गरी उनको आलुको बोरा लोड गरेर चरिकोटतर्फ लागे। सिंगटी आसपास पुगेपछि चिया खाने सोच आयो। एकठाउँमा गाडी रोकेर चिया खाए। चिया खाएर उनी गन्तब्यका लागि गाडी भएको ठाउँमा पुग्दा आलुको बोरा गायब।

‘बोरा हरायो’ भन्दै उनले सामान्य रुपमा पेम्बालाई खबर गरे। तर, पेम्बाले फर्काएको जवाफले भने चालकको मुटु हल्यिो। हातखुट्टा लुला भए, चिटचिट पसिना आयो। ‘बोरामा सुन थियो’ भन्दै हप्काएपछि उनले डराई–डराई इलाका प्रहरी कार्यालय, सिंगटीमा खबर गरे।

त्यसपछि सुरु भएको अनुशन्धानमा प्रहरीले ५ दिनकै अवधिमा चीनबाट तस्करी भएर आएको ११ किलो सुन बरामद गरिसकेको छ भने यो प्रकरणमा संलग्न रहेको भन्दै विगु गाउँपालिका– १ स्यालुका २८ वर्षीय केशर तामाङ, लामबगरको गोंगरका २० वर्षीय माधव मगर र नुर्वुटिरिङ शेर्पालाई पक्राउ गरेको छ।

प्रहरीले सवैभन्दा पहिला गत बुधबार ४ किलो सुनसहित केशर तामाङलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा पेम्बा तामाङ र नुर्वुछिरिङ शेर्पा पनि पक्राउ परे। शेर्पा नेपालमा तस्करीको सुन व्यवस्थापन गर्ने मुख्य व्यक्ति भएको अनुुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन्।

भरिया तामाङ सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन तरुण दलसँग आबद्ध व्यक्तिसमेत हुन् । उनकै बयानका आधारमा प्रहरीले बिहीबार जामुनेस्थित सीता तामाङको घरबाट थप ३ किलो सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले थप ४ किलो सुन यही गिरोहसँग रहेको थाहा पाएको थियो ।

त्यसक्रममा लामाबगरमा ढुंगामुनि लुकाएर राखेको अवस्थामा फेला परेको सुनसमेत गरेर कुल ११ किलो सुन प्रहरीले बरामद गरेको हो ।

चीनको हङकङबाट ब्रेक शुभित्र लुकाएर ल्याइएको ६० किलो सुन पक्राउ परेपछि गिरोहले स्थलमार्गको प्रयोग गर्न थालेको प्रहरीले जनाएको छ। गिरोहले खासै प्रयोगमा नआएको दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी दीपक खड्काका अनुसार सीमा क्षेत्रबाट केही पर चीनको भूभाग फलेकबाट यसअघि पनि सुन ल्याएको हुनसक्ने अनुमान छ । प्रहरीका अनुसार, रोङजिया नाकाबाट चीनको फलेकसम्म पुग्न सकिन्छ । त्यहाँबाट एकदिनको पैदलयात्रामा दोलखाको लामाबगरसम्म आइपुगिन्छ ।

नदीबाट सुनसमेत भएको आलुको बोरा फ्याँकेर वारि ल्याउने गरेको पक्राउ परेकाहरुले बयानमा बताएका छन्। सुनसहितको बोरा भरियालाई बोकाएर लामाबगरसम्म ल्याउने गरेको पाइएको छ । लामाबगरबाट चरिकोटतर्फ बस पनि चल्छन् । तर, सुन बोलेरोमा हालेर ल्याउने गरेको पाइएको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दोलखाबाट भित्र्याएको सुन काठमाडौंको बौद्ध, स्वयम्भु लगायतको क्षेत्रमा ल्याउने गरेको पाइएको छ । त्यहाँ लगेर चिनियाँ नागरिकले दिएको निर्देशन अनुसार नै विभिन्न व्यक्तिलाई डेलिभरी गर्ने गरेको पाइएको छ ।

चिनियाँ नागरिकले दिएको नेपाली रुपैयाँको नोटको नम्बरका आधारमा सुनको डेलिभरी हुने गरेको पाइएको छ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यका अनुसार हवाइमार्गबाट आएको सुन र दोलखामा बरामद ११ किलो सुन दुवै एउटै कम्पनीको उत्पादन भएको देखिएको छ । त्यहीकारण प्रहरीले यो प्रकरण ६० किलो सुनसँग पनि जोडिन्छ कि भन्ने आधारमा हेरेको उनी बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट