व्यवस्थापनको ‘टर्चर’ थेग्न नसकेर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुखले गरे आत्महत्या

काठमाण्डौं– हेटौडा स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुख निराजन देवकोटाले आत्महत्या गरेका छन्। हेटौंडा उपमहानगरपालिका– २ चौकीटोल घर भएका देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए । मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक–पटक टर्चर दिइएका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ।

देवकोटा बैंकको केन्द्रीय कार्यालय काठमाडौं पुगेर हेटौंडा घर फर्किने क्रममा थिए। सोमबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर नदीमा हाम फालेको प्रहरीको भनाई छ।

‘बैंकले टर्चर दिएर नै नदीमा हाम फालेको भन्ने छ । अहिलेसम्म शव भेटिएको छैन । अहिले नदीमा भलबाढी पनि आइरहेको छ’ प्रहरीले भनेको छ–‘गोताखोर प्रयोग गरेर शव खोजी भइरहेको छ । आफन्तहरु आउनु भएको थियो। हामीले सुसाइट नोट भए प्रहरीलाई दिनुस् भनेका छौं ।’

जानकारी अनुसार तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले २०७९ पुस २७ बाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका नामबाट एकीकृत कारोबार सुरु गरेका थिए। बैंकनिकट स्रोतका अनुसार उनलाई व्यवस्थापनले कर्जाको विषयलाई लिएर अनुसन्धान गरिरहेको थियो।

इन्भेस्टमेन्ट बैंकसँग मर्जर हुनुअघि कर्जाको विषयलाई लिएर अनावश्यक तनाव दिने र धम्की दिनेलगायत टर्चरले देवकोटा मानसिक तनावमा रहेको बैंक स्रोतले बतायो। ‘इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि व्यवस्थापनले कर्जाको विषयलाई लिएर मेगा बैंक पक्षका तीन शाखा प्रमुखलाई मानसिक तनाव दिँदै आएको छ। उनलाई पनि सोही क्रममा मानसिक तनाव दिने अनावश्यक सोधपुछ गर्ने र धम्कीसमेत दिने गरिएको थियो,’ बैंक स्रोतले भन्यो, ‘सोधपुछका लागि हेड अफिस बोलाइएको थियो। पारिवारिक कारणबाहेक उहाँ अफिसकै तनाव थेग्न नसकेर आत्महत्यासम्म पुग्नुभएको हुनसक्छ।’

इन्भेस्टमेन्ट मेगा बैंक व्यवस्थापन मेगा बैंकबाट आएका कर्मचारी विशेषगरी शाखा प्रमुखहरूलाई कर्जा दिँदा घुस खाएको भन्दै स्पष्टीकरण माग गर्ने, प्रहरी कार्यालयमा उजुरी दिनेलगायत धम्की दिने गरेको स्रोत बताउँछ। जसका कारण केही कर्मचारीले टर्चर सहन नसकी राजीनामा दिएर बैंक छाडेर गइसकेका छन्।

यस विषयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई जानकारी लिन पटक पटक सम्पर्क गर्दा कुरा हुन सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट