स्वास्थ्यमन्त्रीको सनकले एकै पटक २२१ स्वास्थ्यकर्मीको जागिर खुस्कियो, वीरको सेवा अस्तब्यस्त

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एकै पटक २२१ जना स्वास्थ्यकर्मीलाई कामबाट निकाल्दा वीर अस्पतालको सेवा अस्तब्यस्त भएको छ। वैशाख २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका वस्नेतकै कारण अहिले अस्पतालमा जाने हरेक बिरामीले दुःख पाउने गरेका छन्।

वीरमा कोभिडकालदेखि नियमित रूपमा २३ वटा आईसीयू सञ्चालनमा थियो। सेवा विस्तार गरेर ५९ बेडको आईसीयू सञ्चालन गरियो। यसमा लागि करारमा २ सय भन्दा बढी नर्स लगायतका स्वास्थ्यकर्मी थपिएका थिए। यही जनशक्तिले वीर अस्पतालकोसेवा विस्तार भएको थियो।

तर स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ। मन्त्रीले सरकारसँग बजेट नभएको भन्दै करारमा रहेका नर्सिङ सहितका जनशक्तिको सेवा नथप्न निर्देशन दिए।

अस्पताल निर्देशक डा.सन्तोष पौडेलका अनुसार तलब दिन सरकारसँग पैसा नभएको भन्दै मन्त्री बस्नेतले करार सेवाका कर्मचारीको अवधि नथप्न निर्देशन दिएका थिए। पौडेलका अनुसार गत असोज १५ गते बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले करार अवधि नथप्ने निर्णय गरेको हो।

यसले गर्दा हाल अस्पतालको ५९ बेडको आइसीयू सेवालाई घटाएर २३ बेडमा झारिएको छ। यति मात्रै होइन स्वास्थ्य मन्त्री बस्नेतकै पहलमा दुई महिना अघि वीरको ९०० मध्ये ७०० बेड निःशुल्क गरिएको थियो तर अहिले एकैपटक नर्ससहित २२१ स्वास्थ्यकर्मीको करार नथपी निकाले पछि यो सेवा पनि प्रभावित भएको छ।

स्रोतका अनुसार स्वास्थ्यकर्मी अभाव हुँदा सर्जिकल, न्युरो, अप्रेसन थियटर, आईसीयू, आकस्मिक कक्षलगायतका विशिष्टिकृत सेवा नै प्रभावित भएको छ।

स्वाथ्यकर्मीहरुले भने स्वास्थ्यमन्त्रीको निर्णय विरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। कोरोना महामारीको समयको भत्ता, साउनदेखिको तलब समेत नदिई दशैंको मुखमा बिना जानकारी हटाउने निर्णय विरुद्ध संघर्ष गर्दै स्वास्थ्य तथा अर्थमन्त्रालयसम्म जाने तयारी रहेको अस्पतालमा मेन्टिनेन्स विभागको करारमा कार्यरत राजेश कुमार ठाकुर बताउँछन्। मेन्टिनेन्सका कर्मचारीको दरबन्दी हुँदाहुँदै पनि सोर्स फोर्सका आधारमा कर्मचारी राख्नका लागि आफूलाई निकालिएको ठाकुरले बताए।

यूरोलोजी विभागमा कार्यरत नर्स एलिसा फुयाँलले करारका कर्मचारी निकाल्ने निर्णयसँगै कर्मचारीहरु आन्दोलित हुने अवस्था आएपछि वीर अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको बताईन। करार कर्मचारीले धानेको आइसियू तथा आकस्मिक सेवा समेत बन्द हुने स्थितिमा पुगिसकेको छ। आकस्मिक कक्षका मात्रै १९ जना करार चिकित्सकहरु कामबाट निकालिँदा सेवा प्रभावित भएको उनको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट