अमेरिकी डलर अहिलेसम्मकै महंगो, बस्तु तथा सेवा आयातमा ठुलो घाटा

काठमाडौं– अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक अमेरिकी डलरको १३३.५५ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो हालसम्मकै उच्च दर हो। यसअघि यही असोज ७ गते एक अमेरिकी डलरको विनिमय दर १३३.५४ रुपैयाँ पुगेको थियो।

गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो। त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ। सोही क्रममा आज नयाँ रेकर्ड बनाएको हो। अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ।

विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको छ। नेरु र भारुबीच स्थिर विनिमय दर भएकाले यस्तो भएको हो। नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरुमा पनि प्रत्यक्ष प्रभाव पर्छ।

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी भने वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ। नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ। विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत पनि महँगो पर्छ।

तर, डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ। सबैभन्दा बढी फाइदा रेमिट्यान्समा हुन्छ। डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ। डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन्। डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट