फेसबुके प्रेमीलाई वैंक खाता दिदा बुटबलकी युवती पुगिन प्रहरी हिरासतमा

काठमाडौं– फेसबुकमा चिनजान भएका प्रेमीलाई विश्वास गरेर खाता नम्बर दिदा बुटवलमा गहना पसल सञ्चालन गर्दै आएकी एक युवती प्रहरी हिरासतमा पुगेकी छिन् ।

अनलाईन ठगी गरेको गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी हिरासतमा राखेको छ। अहिले उनले उल्टै झन्डै तीन लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको छ।

फेसबुकबाट चिनजान भई प्रेममा परेकी उनलाई एक दिन प्रेमीले बैंक खाता विवरण पठाउन भने। युवतीले पनि सजिलै सबै विवरण दिइन्। तर, सुझबुझ नगरी बैंक खाता नम्बर दिँदा ती युवती उल्टै ठगीको आरोपी बन्न पुगेकी हुन्।

उनको प्रेमीले एकजना महिलालाई पार्सल पठाइदिएको भनेका रहेछन्। पार्सलमा विभिन्न गरगहना, तीन हजार डलरलगायत अन्य महँगा सामग्री पठाएको भनिएको थियो। पार्सल पाउने महिलासँग युवतीका प्रेमीले भन्सार शुल्कका नाममा दुई लाख ४८ हजार रुपैयाँ उठाए।

महिलाले युवतीका प्रेमीलाई पैसा पठाइन्। तर पार्सल आएन। नआएपछि ती महिला ठगिएको महसुस गरी प्रहरी कार्यालयमा उजुरी हाल्न गइन्। प्रहरीमा गएर महिलाले आफूले रकम पठाएको बैंक खाता उल्लेख गरिन्।

त्यहाँ त बुटवलकी युवतीको खातामा पैसा जम्मा गरिएको थियो। बुटवलकी युवती पक्राउ परिन्। तर, अनुसन्धानबाट थाहा भयो। उनको खाता प्रेमीले चलाउने रहेछन्। आफ्नो एकाउन्टबाट मानिसहरू ठगिएको थाहा पाएपछि युवती छाँगोबाट खसेझैँ भइन्।

युवतीका आफन्तका अनुसार उनी करिब एक वर्षअघि फेसबुकमा एक युवकसँग जोडिएकी थिइन्। लामो मित्रतापछि उनीहरू प्रेममा परे। युवतीले युवकलाई धेरै विश्वास गर्ने अवस्था आएपछि युवकले युवतीको बैंक खाता मागेका थिए।

युवतीको बैंक खातामा कहीँ अन्तैबाट रकम आउँथ्यो। अनि उनी उक्त रकम युवकलाई पठाइदिन्थिन्। पछि बिस्तारै युवतीको अनलाइन बैकिङ कारोबार प्रेमी आफैँले चलाउँदै आएका थिए।

तर, पछि प्रहरीले सम्पर्क गरेर उक्त रकम स्क्याम गरेर पठाउने गरेको भन्ने बताएपछि उनी झसङ्ग भइन्। सोमवार कार्यालयमा पार्सल पाउने नाममा ठगिएकी युवती र बैंक खाता दुरुपयोग भएकी युवतीका आफन्त कार्यालयमा आएका थिए।

पीडित र युवतीबीच ठगी भएको दुई लाख ४८ हजारमध्ये आधा रकम तत्काल उपलब्ध गराउने र बाँकी केही समयपछि दिने सम्झौता भएको छ।

बैंक खाता दुरुपयोग भएकी युवतीले बैंक स्टेटमेन्ट निकालेर जसको खातामा रकम ट्रान्सफर भएको छ त्यही खातालाई विपक्षी बनाएर उजुरी दिएकी छिन्। यससँगै प्रहरीले अकाउन्ट उपलब्ध गराउने युवतीको बैंक स्टेटमेन्ट हेरेर अनुसन्धान अगाडि बढाउने योजना बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट