पाल्पाको बैकुन्ठे भीरबाट बराङ्गदी नदीमा जिप खस्दा ६ जनाको मृत्यु

काठमाडौं– पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरबाट बराङ्गदी नदीमा जिप खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा भीरबाट नदीमा खसेको हो। जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष छन्। जीपका चालक गम्भिर घाईते भएको र उनको उद्वार गरी उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज सई राजकुमार चापागाईले जानकारी दिए।

घटनास्थल रानीमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको छ।

घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्वार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। गाडीमा कति जना यात्रु थिए भन्ने खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट