१० वर्षपछि पहिलो पटक टी–२० विश्वकप खेल्दै नेपाल, यस्तो छ यसअघिको खेल इतिहाँस

काठमाडौं– आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईमाथि ८ विकेटको सानदार जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ। शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो।

यो जितसँगै नेपालले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप २०२४ खेल्ने पक्का भएको छ।

नेपालले सन् २०१२ मा युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो। नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी–२० विश्वकप पुगेको थियो।

बंगलादेशमा भएको टी–२० विश्वकप २०१४ खेलेर नेपालले इतिहास बनाएको थियो। सन् २०१५ को विश्वकप छनोटमा भने नेपालको प्रदर्शन फितलो भयो। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगिताबाट नेपाल बाहिरियो।

सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट खेल भएको थियो। जहाँ नेपालले खराव प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपको छनोटमा पनि नेपाल सफल भएन। दुई वर्षअघि ओमानमा भएको छनोटमा नेपालले समूह चरणमा सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा जिते हात पारे विश्वकपमा पुग्ने खेलमा भने नेपाल पराजित भयो।

फागुन २०७८ मा ओमानमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदा ८ वर्षपछि विश्वकप खेल्ने सपना तुहिएको थियो।

पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्। सन् २०२४ को टी–२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्दैछन्।

गत वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको शीर्ष ८ मा परेका अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका २०२४ को विश्वकपका लागि छनौट भईसकेका छन्।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन् भने १४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई छनोटको आधार मान्दा अफगानिस्तान र बंगलादेशले टी–२० विश्वकपमा स्थान बनाइसकेका छन्।

क्षेत्रीय छनोटमार्फत अफ्रिकाबाट २, अमेरिकाबाट (क्यानडा) १, एसियाबाट (नेपाल र ओमान) २, इस्ट एसिया प्यासेफिकबाट – १ टिम (पपुवा न्युगिनी) र युरोपबाट २ टिम (आयरल्यान्ड र स्कटल्यान्ड) गरी जम्मा ८ टिम सहभागि हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट