१२ वटा उपाधिका धनी ‘दुर्लभ महामानव’को सम्मानमा १२ जना सहभागी

कास्की– पोखरामा आफैले उपाधी घोषणा गरी आफै लगानी गरेर सम्मान थाप्ने प्रचलन सुरु भएको छ। विशेषगरी साहित्य क्षेत्रमा यसको प्रयोग भईरहेको अग्रज साहित्यकारहरुले बताएका छन्।

देशभक्त कुँवर नाम गरेका एक ब्यक्तिले आफना लागि अहिलेसम्म १२ वटा उपाधी घोषणा गरेका छन्। र १२ वै उपाधिको नामबाट उनले सम्मान पनि थापिसकेका छन्। कुँवरलाई उनी आबद्ध संघ/संस्थाहरूले नै सम्मान गर्ने गरेका छन्। तर, यति धेरै उपाधिबाट सम्मानित व्यक्तिको सम्मानमा भने मुस्किलले ११–१२ जनाको उपस्थिती हुने गरेको छ।

हरेक संस्थाले उनलाई नगद ५० हजार देखि ३ लाखसम्मको पुरस्कार समेत दिने गरेका छन्। साहित्य क्षेत्रका पोखरेलीहरुले दिएको जानकारी अनुसार उनले साहित्य सम्राट्, वाङ्मय सम्राट्, शब्द सम्राट्, सिर्जना सम्राट्, लेखक सम्राट्, रचना सम्राट्, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग सञ्चारमणि र दुर्लभ महामानव उपाधिका नाममा सम्मान थापिसकेका छन्।

उनीहरुका अनुसार पुरस्कारको राशि कुँवरले आफैँ प्रायोजन गर्ने र आफु आवद्ध संस्था मार्फत सम्मान गर्न लगाउने गरेका छन्। यसले पोखराको साहित्यमै एक खालको कालो पोतिएको स्थानीयहरुको गुनासो छ। एक अग्रज साहित्यकार भन्छन्, ‘उपाधिको स्वघोषणा गर्ने र प्रायोजित पुरस्कार लिने अनौठो चलनको विकास भयो ।’

उनलाई हालसम्म इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवी फाइनान्सियल एजेन्सी काठमाडौँ, काभिन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवारले सम्मान गरेको जनाईएको छ।

उनी चितवनमा साहित्यिक राष्ट्रनायक उपाधिबाट सम्मानित भएका थिए। गत बुधबार उनले एकै दिन काव्य सम्राट्, कविता सम्राट् र कवि सम्राट् गरी ३ वटा उपाधिमा सम्मान पाए। सोही दिन सोलुसन साहित्य पुरस्कार, कुँवर वीरखलक पुरस्कार र माछापुच्छ्रे सांस्कृतिक पुरस्कार पनि थापे। तीनैवटा सम्मानको राशि ३ लाख छ । भदौ ३१ गते उनले भावना सम्राट् पुरस्कार पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट