पेट दुखेको उपचार गर्न गएकी महिलाको पाठेघर झिकियो, विरामीको मृत्यु भएपछि एचए पक्राउ

जनकपुर– पेट दुखेर उपचारको लागि क्लिनिकमा पुगेकी रौटहटको चन्द्रपुर नगरपालिका ७, मुस्लिमटोलकी ३० वर्षिया नुरजहान खातुनको उपचारका क्रममा मृत्यु भएको छ। उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

मुस्लिम टोलका शेख इदरहिमकी पत्नी ३० वर्षीया नुरजहानलाई पेट दुखेपछि उपचारको लागि २० कात्तिकमा गरुडा– ८ स्थित इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिमा भर्ना गरिएको थियो। क्लिनिकले अनधिकृत रुपमा नुरजहानको पाठेघरको अप्रेसन गरिदिएपछि उनको मृत्यु भएको जनाईएको छ।

पाठेघरको अप्रेसनका क्रममा महिलाको मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २० गते भर्ना भएकी नुरजहानको सोही दिन अप्रेशन गरी पाठेघर फालिएको थियो।

पाठेघर झिके लगत्तै अत्याधिक रक्तस्राव भएर महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि हतारहतार वीरगञ्ज रेफर गरेको थियो। त्यसपछि उनी क्लिनिक बन्द गरेर फरार एचए महारसहित क्लिनिक सञ्चालक र बाँकी स्वास्थ्यकर्मी फरार भएका थिए।

रेफर गरिएकी महिलालाई वीरगञ्जको मेट्रोसिटी हस्पिटल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। अनुशन्धानका क्रममा दक्ष चिकित्सकबिनै सञ्चालनमा रहेको क्लिनिककले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गरेको पाइएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम खनालले बताए।

‘क्लिनिकमा एमबीबीएस डाक्टरसमेत छैनन्। भिडिओ एक्स रे, आईसीयू लगायत कुनै पनि उपकरण र सुविधा छैन’ उनले भने–‘एचएको भरमा चलेको क्लिनिकमा जटिल खालको अप्रेसन गरेको पाइयो।’ त्यसपछि प्रहरीले एचए महरालाई पक्राउ गरेको थियो।

डीएसपी खनालका अनुसार क्लिनिकले अप्रेसन गर्नुअघि बिरामीसँग २० हजार रुपैयाँ भुक्तानी लिएको थियो। पीडित पक्षले बोकेर क्लिनिक अगाडि प्रदर्शन सुरु गरेपछि मात्रै प्रहरीले जानकारी पाएको थियो।

प्रहरीले महिलाको शव पोष्ट मार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट