मृतकको मोवाईल पछ्याउँदा यसरी पक्राउ परे मुगुको सामुहिक हत्याका अभियुक्त

वीरेन्द्रनगर— मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुमा एकै परिवारका चार जनाको हत्या गर्ने दुई जना अभियुक्तलाई पक्राउ गरी शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्ने दुवै जना मृतकका आफन्त हुन।
छायानाथ रारा नगरपालिका–७ पिनागाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले मृतकको मोवाईलको लोकेशन पछ्याउने क्रममा पक्राउ गरेको थियो। उनी २० कात्तिकमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेका हुन। उनी समातिएको भोलीपल्ट मुगुको गमगढी–२ बाट गोपाल पनि पक्राउ परेका हुन।
गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन। श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा हुन। ८ कात्तिकको राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, सात वर्षकी छोरी अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो।
घरमा दसैँ मनाएर ७ गते टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकी थिईन। सोही राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो। पूर्व योजनाअनुसार गोपाल र गोर्खराज साँझ साढे ८ बजे मृतकको घरमा पुगेका थिए । दिदी, दिदी भनी गोपालले बोलाएपछि मृतकले ढोका खोलेकी थिइन्। त्यसपछि मृतकले खाना खायौ कि छैन? भनेर सोधेको समेत खुलेको छ ।
रुन थालेपछि बच्चाको पनि हत्या
प्रहरी नियन्त्रणमा रहेका गोपालले आफूहरु योजनाका साथ हत्या र लुटपाट गर्ने गरी मृतकको घरमा पुगेको बयान दिएका छन्। प्रहरी श्रोतका अनुसार उनीहरुको योजना श्रीदेवीको हत्या गरी लुटपाट गर्ने थियो।
केही समय कुराकानी गरेपछि आरोपितहरुले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेको वताएका छन्। ठूला भएका छोरीहरुले देखेका कारण पोल खुल्ने डरले उनीहरुको समेत हत्या गरेको र सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले उनको पनि हत्या गर्नुपरेको बयान उनीहरुले दिएका छन् ।
भिसा नमिलाई दिएको रिसमा लुटपाट गर्ने उदेश्यले हत्या
प्रहरीका अनुसार श्रीदेवीका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीका क्रममा कतारमा थिए। गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका हुन। दीपक भने महिनामै करिव डेढ लाख कमाई गरिरहेका थिए। विदामा घर आएर गत मंसिरमा मात्रै उनी कतार गएका थिए।
गोपालले भिसा लगाइदिन दिपकलाई आग्रह गरेका थिए। तर, दिपकले उनको आग्रह अस्विकार गरे। सोही कारण रिस साँध्न गोपालकै योजनामा हत्या भएको प्रहरीले जनाएको छ। उनीहरूले लुटपाटका लागि हत्या नै गर्ने योजना अनुसार घट्ना घटाएको पाईएको छ।
जेठ ०८० मै बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटी हत्याको योजना बनाएका थिए। श्रीदेवीसँग रहेको १०/१२ तोला सुन लुटपाट गर्ने योजना बनाई सोही योजनाअनुसार ५ कात्तिकमा गोर्खबहादुर सुर्खेतबाट मुगु आएका थिए।
७ कात्तिकमा उनी गोपालको घरमा र ८ गते राति गोपालको पुरानो गोठमा लुकेर वसेका थिए। श्रीदेवी ३ छोराछोरीसहित माइतीबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयान दिएका छन्।
हत्यापछि श्रीदेवीले कानमा लगाएको साढे दुई तोलाको रिङ, २५ लालको तिलहरि र केही नगद लुटेर घरमा बाहिरबाट ताला लगाई हिँडेका थिए। गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने रातभर हिडेर मुगु र जुम्लाको सिमानासम्म पुगेका थिए। त्यहाँबाट बस चढेर सुर्खेत पुगेका थिए।
प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराजले लुकाएर राखेको १ लाख ७९ हजार, उनको राहदानी र मुगुबाट गएको बसको टिकट फेला पारेको थियो।