ट्याक्सीमा छुटेको ४० लाखको गहना बोकेर चालक प्रहरी कार्यालयमा पुगेपछि…

काठमाडौं– धन सम्पत्तिका लागि चोरी, डकैटी र हत्यासम्म हुने गरेको हाम्रो समाजमा काठमाण्डौंका एक ट्याक्सी चालकले इमान्दारीताको चरम नमुना प्रश्तुत गरेका छन्।
काठमाडौंको जडिबुटीबाट जम्मुडाँडासम्म जाने क्रममा यात्रुले ट्याक्सीमा छोडेका ४० लाख मूल्य बराबरका सुनचाँदीका गहना लिएर उनी स्वयम प्रहरी कार्यालयमा पुगेका छन्।
बा २ ज ३४५३ नम्बरको ट्याक्सी चालक रोशन वयलकोटी स्वयम् सुनका गहना सुरक्षित लिएर आईतबार बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा पुगेका हुन। उनी सम्पर्क पुगेपछि ट्राफिक प्रहरीले गहना धनी पत्ता लगाएर हस्तान्तरण पनि गरेको छ ।
जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोला बराबरको चाँदीका गहना भएको झोला छुटेको थियो। रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा यस विषयमा खबर गरेकी थिइन् ।
तामाङको लिखित निवेदन समेतका आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामेराको सहायतामा ट्याक्सी खोजिरहेको थियो। त्यहीबेला ट्याक्सी चालक वयलकोटी आफैं गहना लिएर ट्राफिक प्रहरी वृत्त गौशालामा पुगे।
त्यसपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज सम्बन्धित धनीलाई उक्त गहना हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।