टिकटकको विकल्पमा नेपाली युवाले ल्याए ‘रमाईलो’ एप, यस्ता छन् फिचर

काठमाडौं– सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि त्यसको विकल्पमा नेपाली युवाहरुले सोही प्लेटफर्म जस्तै अर्को एप ल्याएका छन्।
आईडिया जार डिजिटल कम्पनीले ‘रमाइलो’ नामक एप सार्वजनिक गरेको हो। नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा काम गर्दै आएको यो कम्पनीले ल्याएको रमाईलो एपमा टिकटक जस्तै भिडियो हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्नुका साथै सोही एपमार्फत लाइभ गर्न मिल्ने सुविधा समेत उपलब्ध छ।
कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि टिकटकमा जस्तै कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको छ। तर, नेपालमा आफ्नै एप नहुँदा विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यता छ।
नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको कम्पनीको दाबी छ । नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको अपेक्षा छ ।
सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम विकल्प बन्न सक्छ ।
यो एपको प्रयोगले नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दावी छ। रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले मात्र पहुँच राख्न सक्नेछन् ।
यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर