जिप्रकामा भोज, ह्याङओभर उतार्न चौकीमा असईले पेस्तोल खेलाउँदा गोली लागेर जवान घाईते

जनकपुर– २८ कात्तिकमा गोली चलाएर दुई जना डाका पक्राउ गरेको खुसियालीमा ३० कात्तिकमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले रात्रिभोजको आयोजना गर्यो। भोज सहभागि भएका हलखोर प्रहरी चौकीका असई बच्चा यादवले पेस्तोल खेलाउँदा गोली चलेर एक प्रहरी जवान घाइते भएका छन्।

यादवको पेस्तोल पड्किंदा गोली लागेर उनीसँगै कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएका छन्। राजेश सप्तरीका बासिन्दा हुन ।

कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा डाका गरेका सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गरेको थियो।

पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुवै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो। त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन गरिएको थियो।

भोज खाएर फर्केका असई यादव चौकीमा पुगेर रमाइलो गर्न थाल्दा खेलाउँदै गरेको पेस्तोल पड्किएर पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ। घटना ढाकछोप गर्न असई यादवले जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए।

भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गराएको थियो। घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको हो । त्यसपछि घटना बाहिरिएको हो।

घटनाबारे शुक्रबार जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको नेतृत्व तनावमा छ । थाहा पाएलगत्तै प्रहरी चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ। जाँचबुझका लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले बताए।

स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट