पाँच वर्षदेखि कहाँ हराए तपस्वी रामबहादुर बम्जन, सीआईबी भन्छ– आश्रममै छन्

काठमाडौं– कुनै बेला ‘लिटिल बुद्ध’का नामले प्रचारित तपस्वी रामबहादुर बम्जन आश्रम आएका तीन ‘भक्त’ बेपत्ता पारेको आरोप लागेपछि करिब पाँच वर्षदेखि बेपत्ता छन्। उनीको बारेमा राज्य नै बेखबर छ।

राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर र अपराध अनुसन्धान गर्ने प्रहरीलाई समेत वम्जनको विषयमा अत्तोपत्तो छैन। उनी सम्पर्कविहीन भएपछि ४ असार २०७७ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो। तर, प्रहरी रित्तो हात फर्कियो।

बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन्। आश्रमभित्र उनले आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए। उनी अहिले लापत्ता छन्।

एक प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए। आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए।

उनी हराएपछि प्रहरीले उनको आश्रममा छापा मारेको छैन। यद्यपि उनको खोजी अझै जारी रहेको सीआईबीले जनाएको छ। सीआईबीबाहेक सिन्धुली प्रहरी र सर्लाही प्रहरीसमेत उनको खोजीमा छन्। पछिल्लो समय आश्रममा पनि उनको ‘मुभमेन्ट’ नदेखिएको प्रहरी बताउँछ।

बम्जनमाथि २० साउन ०७३ मा आश्रममा आएका तीन युवतीलाई बलात्कारपछि बेपत्ता पारेको आरोप छ। घट्नाको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए। जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो। तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालतमा बुझाईसकेको छ। तर, बम्जन अझै अदालतमा हाजिर भएका छैनन्।

प्रहरीले बम्जनका आश्रमहरुबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो। बम्जनबारे सुरुवाती चरणको अनुसन्धान गरेका सीआईबीका एक अधिकारीले भने बम्जनले सिन्धुलीको आश्रम अझै नछोडेको दाबी गरेका छन्।

सीआईबीको टोलीले बम्जनको आश्रम भत्काउनुपर्ने प्रतिवेदन जिल्ला वन कार्यालय सिन्धुलीदेखि तत्कालीन सिन्धुलीका प्रहरी प्रमुख एसपी रञ्जु सिग्देललाई दिएको थियो। तर, त्यो कुनै प्रक्रिया अघि बढेन। त्यसैले सरकार नै लागेर उनको संरक्षण गरिएको केही प्रहरी अधिकारी वताउँछन्।

सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले अनुसार बम्जनबारे खोजी जारी रहे पनि नभेटिएको बताए। पछिल्लो समय प्रहरीले बम्जनको निगरानी गर्न ड्रोन क्यामरा प्रयोग गरेको छ। आश्रमको चारै कुना उनका सुराकी रहेको र प्रहरी जाँदा सूचना दिएर भाग्ने आशंका गरेको प्रहरीले उनको आश्रम नजिक समय–समयमा ड्रोन क्यामरा पठाउने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट