जाजरकोटमा भूकम्पपीडित किशोरी बलात्कृत, आरोपी भन्छन्– औला मात्रै छिराएँ

राजविराज– गत १८ कात्तिकको राति गएको भूकम्पका कारण त्रिपालमा गुजारा गरिरहेकी जाजरकोटको नलगाड नगरपालिकाकी एक किशोरी बलात्कृत भएको खुलासा भएको छ।

ठूली आमाको परिवारसँगै त्रिपालमा बसेकी किशोरीलाई २६ कात्तिकको राति नजिकैको चौरमा लगेर २१ वर्षीय गोपाल वादीले बलात्कार गरेको खुलेको हो। उनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र पनि दायर गरेको छ। अभियोग पत्रमा राती साढे ८ बजे शौच गर्न गएकी किशोरीलाई गोपालले पछाडिबाट मुख छोपी करिब ६० मिटर पर लगेर बलात्कार गरेको उल्लेख छ।

कृषि विद्यालय नजिकैको बाँझो जग्गामा लगी लडाएर कुटपिट गर्दै बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ। बलात्कारपछि हिँड्न नसक्ने अबस्थामा पुगेकी किशोरीलाई गोपालले नै काँधमा बोकेर ठूलीआमाको अस्थायी आवास छेउमा लगेर छोडेका थिए।

पीडित किशोरीका बुुबा आमासहितको परिवार भारतमा मजदुरी गर्दै आएको छ। किशोरी भने नागरिकता बनाउन भन्दै दसैँअघि नलगाड आएकी थिइन्। वादीले भने किशोरीको सहमतिमै योनीमा औला छिराएको तर यौन सम्पर्क नगरेको बयान दिएका छन्।

घुम्दै आएकी किशोरीलाई आफुले बोलाएर सँगै वसेको, नजिक आएर बस्दा यौनसम्बन्धी कुरा गरेको र उनले ‘यहाँ हुँदैन, मानिसहरू आउँछन’ भनेपछि कृषि विद्यालयपछिको बाँझो जग्गामा गएको पनि गोपालले स्विकारेका छन्।

पहिले पीडितको योनीमा औँला छिराएको र पछि रिङ्गटा लागेको भनेकाले करणी नगरेको गोपालले बयान दिएका छन्। योनीमा औँला छिराउनुलाई पनि करणी नै मान्ने गरिन्छ । यसपछि सरकारी वकिल कार्यालय जाजरकोटले शुक्रबार जिल्ला अदालतमा गोपालविरुद्ध जबजस्ती करणीसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट