एक साताअघि मृत्यु भएका मोरङ कारागारका थुनुवाको अझै पोष्टमार्टम भएन

विराटनगर– नाइकेले अण्डकोषमा कुटपिट गर्दा मृत्यु भएको आशंका गरिएका विराटनगरस्थित जिल्ला कारागार मोरङमा मृत्यु भएका थुनुवाको एक सातासम्म पनि पोष्टमार्टम हुन सकेको छैन।

आफन्तले छानबिन समितिको माग गर्दै शव नबुझ्ने अडान लिएपछि मृतक लेटाङ–४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको पोष्टमार्टम हुन नसकेको हो। अन्त्यमा सीडीओ कार्यालय मोरङले परिवारको माग वमोजिम छानबिनका लागि भन्दै सहायक सीडीओ प्रदीपकुमार साहको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, इन्स्पेक्टर हेमराज ओली र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

बलात्कार मुद्दामा ६ कार्तिकमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका भुजेलको गत बिहीबार बेलुका साढे ५ बजे उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो। घटनालाई उनका परिवारले रहस्यमय भनेका छन्।

कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेको हुन सक्ने उनीहरुको आशंका छ। शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा रगतको टाटा देखिएको मृतककी श्रीमती रामकुमारीले बताइन्।

भुजेलले पेट दुखेको भन्दै लगातार पिसाव गर्न जाने गरेको खुलेपछि उनलाई कण्डकोषमा हिर्काएको हुन सक्ने रामकुमारीले वताईन। कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु-याएको थियो।

कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो। तर, उनको उपचारको लागि अरू अस्पताल नलगिँदा उनको मृत्यु भएको जनाईएको छ।

कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरूले कुटपिट गर्ने गरेको गुनासो ब्यापक छ। यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन्।

र यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट