थमन विक हत्या पक्ररणः लोसपाका प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद

राजविराज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै उनीहरुलाई जन्मकैदको सजाय गरिएको हो। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले शर्मासहितलाई कर्तव्य ज्यानमा जन्मकैद र आगो लगाएर जलाएको घटनामा थप ६ महिना कैद हुने फैसला गरेको छ।

इजलासले अभियुक्तहरु शर्मासहित सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको हो। जन्मकैदकै सजाय पाएका शर्मा महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन भने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् हुन।

महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन्। यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ।

घट्नामा संलग्न भनिएका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर फरार भएका थिए। त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए।

रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन्।

यस्तो थियो घट्ना
तराई–मधेशमा तत्कालीन मधेश केन्द्रित दल लगायतले गरेको तेश्रो मधेश आन्दोलनको क्रममा हत्या सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमनबहादुर विकको हत्या भएको थियो।

आन्दोलनका क्रममा २५ भदौ २०७२ मा सशस्त्र प्रहरी बल जिल्ला कमाण्डपोष्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत असई विकलाई तत्कालीन मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले हानेर गम्भिर घाइते बनाएका थिए।

घाइते विकलाई उद्वार गरी प्रहरीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पु¥याएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समा तत्कालीन जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा साविक महोत्तरी वडा नम्बर ८ स्थित सनोखडास्थित धान खेतमा आन्दोलनकारीले असई विकको हत्या गरेका थिए।

आन्दोलनकारीहरुले ‘चलु जलेश्वर–भरु जलेश्वर’ कार्यक्रम सञ्चालन गरेका थिए। स्थानीय प्रशासनले कर्फुयू लगाएको थियो। कर्फ्यु तोड्दै आन्दोलनकारीहरुले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रवेश गरेपछि दोहोरो झडप भएको थियो। सो क्रममा केही आन्दोलनकारी मारिए भने केही प्रहरीसमेत घाइते भएका थिए।

सोही क्रममा गम्भिर घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई थप उपचारका लागि जनकपुर लैजादै गर्दा आन्दोलनकारीहरुले बीच बाटोमै घेरा हाली गाडीभित्रै हत्या गरेको आरोप थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट