मिटरब्याजीले अदालतमै पीडितलाई कुटेपछि रातभर सीडीओ कार्यालय घेराउ
लहान– सिरहामा एक जना मिटरब्याजीले अदालतमै दुई पीडितलाई कुटेपछि तनाव भएको छ। मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै पीडितलाई कुटेपछि मिटर ब्याज पीडितहरूले सीडीओ र सहायक सीडीओको सरुवा गर्न माग गर्दै रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन्।
निरौलाले बुधवार अदालतमै रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए। घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरूले माग गरेका छन्। रातभर धर्ना वसेका उनीहरुले माग पुरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन्।
पीडितको अडानपछि प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ। ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जिल्ला प्रहरी कार्यालय सिरहाले जाहेरी दर्ता गरेको छ।
मिटर ब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवानले न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी निरौलाले कुटेको र उनलाई प्रहरीले पक्राउ नगरेपछि रातभर धर्ना बसेको बताए । प्रहरीले आज बिहान मात्रै निरौलाविरुद्व जाहेरी दर्ता गरेको जनाईएको छ।
विष्णुपुर गाउँपालिका १ का बासिन्दा निरौला विरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेका छन। केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए।
निरौला छुटेपछि पीडितहरूलाई धाक धम्की दिएर प्रताडित गरेको संघर्ष समितिका संयोजक पासवानले बताए । ‘आफूमाथि किन मुद्दा लगाएको भन्दै पीडितहरूलाई अनेक खालको हिंसा गरिरहेका छन् । हिजो त अदालतमै पीडितलाई कुटे, जहाँ मान्छे न्यायका लागि पुग्छन् ।’– उनले भने।
मिटर ब्याज विरुद्धको संघर्ष समितिले सिरहाका सीडीओ राजेन्द्रदेव पाण्डे र सहायक सीडीओ नरेशकुमार यादवको सरुवाको माग गरेको छ। मिटर ब्याज सम्बन्धी परेको जाहेरी मिलापत्र गराउनु पर्ने जिम्मेवारी पाएका सीडीओले पीडितहरूलाई न्याय दिलाउन नसकेको समितिको आरोप छ।
सिडिओ र सहायक सिडिओकै भूमिका शंकास्पद रहेको पासवानको आरोप छ।