किशोरीको आर्थिक अवस्थाले सन्दीप लामिछानेलाई बलात्कारी बनायो!

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतको शुक्रबारको इजलासले उनलाई किशोरीको आर्थिक अवस्थासँग जोडेर बलात्कारी प्रमाणित गरेको हो।

लामिछानेले किशोरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई करणी (बलात्कार) गरेको अदालतले ठहर गरेको छ। ‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ ।’– फैसलामा भनिएको छ।

तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ। अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोक्न आदेश दिएको छ भने सो अगाडि वादी, प्रतिवादी तथा जोहरवाला पक्षका कानुन व्यवसायीबाट सजाय पूर्वको प्रतिवेदन तथा पीगितलाई भराउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारमा पेश गर्न पनि आदेश दिएको छ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन। उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि भएको आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुन काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ।
एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको किशोरीको दाबी रहेको भन्दै अदालतको संक्षिप्त फैसलामा भनिएको छ, ‘गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’

प्रहरीले किशोरीलाई नाबालिग भएको दाबी गरेको थियो। तर सन्दीपका कानुन व्यवसायीहरूले उनी नाबालिग नभएको दाबी गरेपछि मुद्दाको सुनुवाइ किशोरीको उमेरमा केन्द्रित भएको थियो। तर न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका छन्।

विभिन्न निकायको पत्र र कागजात प्रमाणबाट २०६१ असार १८ गते जन्म भएकाले घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिकामाथि बलात्कार भएको आरोप स्थापित हुन नसक्ने ठहर भएको छ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो। सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए। २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे। अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए। २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा ससर्त छाड्न आदेश दियो। त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे। लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए।

१५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट