परस्त्रीसँगको सम्वन्धका कारण शिवराजको ज्यानै गयो, युवतीका पतिद्वारा गोली हानी हत्या

दाङ– दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका शिवराज केसीको गोली हानेर हत्या गरेको खुलेको छ। सुरुङभित्र शव लुकाएर भागेका तीन जनालाई भारतबाट पक्राउ गरेर ल्याएपछि यो तथ्य खुलेको हो।

घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा भेटिएको थियो। ५० मिटर गहिरो सुरूङभित्र भेटिएको शवको छातीमा भरूवा बन्दुकको गोली लागेको प्रहरीले जनाएको छ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ।

घटनापछि दिल्ली पुगेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले वताए। शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएको र सोही कुरालाई बाहना बनाएर सुरूङमा लगेर हत्या गरेको जस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए।

शेरबहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएकोजस्तो देखिएको एक जना प्रहरी अधिकारीले बताए। शेरबहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएका छन्। तर, घटनामा क–कसको संलग्नता छ भन्ने गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि खोजी सुरु भएको थियो। मोबाइल लोकेसनका आधारमा उनको शव कोइराला खानीको सुरुङभित्र फेला परेको थियो।

पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलीका खोका प्रहरीले बरामद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट