‘क्रिश्चियन धर्म मान्दा रोग निको हुन्छ’ भन्दै भ्रम फैलाउने पाष्टरलाई कालोमोसो

कपिलबस्तु– कपिलवस्तुमा २ जना क्रिश्चियन धर्म प्रचारकलाई कालोमोसो दलिएको छ। बालबालिकालाई झुक्याएर बाईबल पाठ गराएको र ‘क्रिश्चियन धर्ममा लागे रोग निको हुन्छ’ भन्दै भ्रममा पारेर धर्म परिवर्तन गराएको आरोपमा उनीहरुलाई कालोमोसो दलिएको हो

कपिलवस्तु नगरपालिका–२ स्थित प्रहरी कार्यालय टोलको एउटा घरमा महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले घेरा उनीहरुलाई कालोमोसो दलेको जनाईएको छ। क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालो मोसो दलेको स्थानीयले बताए।

हिन्दू समुदायका अबोध बालबालिकालाई बाइबल पाठ गराइराखेको र स्थानीय महिलालाई उपचारको नाममा प्रभाव पारेर प्रार्थना गराएको खबर पाएपछि आफूहरू त्यहाँ पुगेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए।

जनवरी २२ मा अयोध्या राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको कार्यक्रमलाई सफल पार्ने सन्दर्भमा तौलिहवा आएका बेला स्थानीयबाटै क्रिश्चियन धर्मको प्रार्थनाबारे जानकारी पाएको उनको भनाई छ।

‘अबोध बालबालिकालाई झुक्क्याएर बाइबल पढाउँदै गरेको र महिलाहरूलाई प्रार्थनाले रोग निको हुने आश्वासन दिएको भेटेपछि स्थानीयले कालोमोसो दलेका हुन’ योगीले भने। राष्ट्रमा सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भए पनि अरूको धर्ममा प्रभाव पार्ने छुट कसैलाई नभएको जनाउँदै यस्ता कार्यको प्रतिवाद हुन आवश्यक रहेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मराज विकले बताए ।

घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्धार गरेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी हरिबहादुर वलीले जानकारी दिए।

महाकालका कार्यकर्ता र स्थानीयले कालोमोसो दलेर नगर घुमाउने योजना बनाउँदै गर्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले तत्काल उद्धार गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट