हत्या, वेपत्ता र बलात्कारका आरोपी बमजनलाई जिम्मा लिन पूर्वमन्त्री नै सीआईबीमा पुगेपछि…

काठमाडौं– हत्या, वेपत्ता र बलात्कार जस्ता गम्भिर आरोपमा पक्राउ परेका कथित तपस्बी रामबहादुर बम्जनलाई जिम्मा लिन भन्दै पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा सीआईबीको कार्यालयमा पुगेकी छिन्।

बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी लामाले उनलाई ‘भगवान’ बताएकी छिन्। लामाले वमजनलाई हतकडी नलाउनसमेत प्रहरीसँग माग गरेकी छिन्।

तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन्। प्रहरीले बमजनलाई सर्लाही लाने तयारी गरेको छ।

सीआईबी कार्यालयमा विहानैदेखि बम्जनका समर्थक भेला भएका छन्। बम्जनले कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ। बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ। हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए।

उनले प्रहरीसँगको बयानमा आफूले कुनै किसिमको अपराध नगरेको बताएका छन्। उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेको सीआईबीले जनाएको छ।

बम्जनले आफू योग, ध्यान र साधनामा लागेकाले यस्ता अपराध गर्न सम्भव नै नहुने पनि बताए। आफुलाई फसाउन डिजाइन गरिएको र त्यसकै आधारमा विभिन्न आरोपहरु लगाईएको उनको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट