सरकारी तथ्यांक नै भन्छः ५९ लाख नेपाली मासिक ६ हजार पनि खर्च गर्न सक्दैन

काठमाडौं– केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’ ले नेपालमा ५९ लाख नागरिक गरिबीको रेखामुनि रहेको देखाएको छ।

०७८ सालको जनगणनाका आधारमा ५९ लाख ११ हजार ६५९ जना गरिबीको रेखामुनि रहेको मान्न सकिने कार्यालयको भनाई छ।

कार्यालयले एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखेको छ। खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न सक्नेलाई मात्र गरिबीको रेखाभन्दा माथि राखिएको छ।

सर्वेक्षणका लागि २०७९ असारदेखि २०८० जेठसम्म तथ्यांक संकलन गरिएको थियो। देशभरिको प्रतिनिधित्व हुने गरी ९ हजार ६०० घरपरिवार छनोट गरिएको थियो। प्रदेश र स्थानीय तहको प्रतिनिधित्व नछुट्ने गरी घरपरिवार छनोट गरिएको डा. रेग्मीले जानकारी दिए।

सामान्यतया विकसित र गरिबी कम भएको मुलुकमा खाद्यान्नभन्दा गैरखाद्य उपभोगमा बढी खर्च हुन्छ। नेपालमा भने व्यक्तिले वर्षमा गर्ने कुल उपभोगमध्ये खाद्यान्नका लागि मात्र ५० प्रतिशतभन्दा माथि खर्च हुने गरेको सर्वोक्षणले देखाएको छ।

अझै पनि ५३ प्रतिशत खर्च खाद्यान्न र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने गरेको छ। सोमबार सार्वजनिक तथ्यांक अनुसार सहरको तुलनामा गाउँमा धेरै नागरिक गरिबीको रेखामुनि रहेको देखिएको छ। सहरमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि पाइएको छ।

सबभन्दा धेरै गरिबी सुदूरपश्चिममा छ। यो प्रदेशमा ३४.१६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत र बागमतीमा १२.५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छ। गरिबीको फैलावटको हिसाबले सबैभन्दा धेरै मधेश प्रदेशमा छन्। यहाँ कुल गरिब जनसंख्याको २५.०८ प्रतिशत छ। लुम्बिनीमा २२.७६ प्रतिशत गरिबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट