कांग्रेस नेता गणेश लामा विरुद्ध दर्ता भयो अपहरण र फिरौतीको जाहेरी

काठमाडौं– अपराधिक पृष्ठभूमिबाट राजनीतिमा छिरेका कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा अपहरण र फिरौटी मागेको भन्दै किटानी जाहेरी परेको छ। ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्काले लामाबिरुद्ध २८ माघमा जाहेर दर्ता गरेका हुन।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट २३ पुसको दिउँसो करिव १ बजे अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरीमा उल्लेख छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दर्ता भएको जाहेरीका विषयमा खड्काले बुधबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गराएका छन्।

लामा र सहदेव कक्षपति लगायतले अपहरण गरेर ८ घण्टाभन्दा बढी बन्धक बनाएको उनले आरोप लगाएका छन्। बाटोमा गाडी छेकी मास्क र टोपी लगाएर लामा र कक्षपतिले आफुलाई अपहरण गरेको खड्काको आरोप छ। बन्धक बनाएर २५ लाख फिरौती मागेको खड्काले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले लेखेका छन्– ‘कुख्यात आपराधिक समूह गणेश लामा र सहदेव कक्षपति लगायतद्वारा ललितपुर धोलाहिटी आदर्श टोलबाट मेरो अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलमा लगेर ८ घन्टाभन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रासबीच करकापमा फिरौती स्वरूप करोडौंको लेनदेनको कागज गरेको थियो।’

जाहेरी दिएको धेरै दिन हुँदा पनि मान्छे पक्राउ नपरेकाले मुद्दा कमजोर बनाउने षडयन्त्र हुने चिन्ताले आफूले घटना सार्वजनिक गरेको खड्काले बताएका छन्। आफूसँग क्रिप्टो करेन्सी बिटक्वाइन हुनसक्ने आशंका गरेर लिन खोजेको पनि खड्काले बताएका छन्। मोबाइल, ल्यापटप हेरेर केही फेला नपरेपछि जबरजस्ती २० करोडको कागज समेत गराइएको उनको भनाइ छ।

घटना भएको केही दिनसम्म पनि लामाले सम्पर्क गरी पैसा मागेकाले २५ लाख पठाएको पनि उनले बताएका छन्। त्यसबाहेक पनि थप रकम मागेका च्याटहरू रहेको उनले बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले घटना अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइसकेको बताए। परिसरका प्रमुख एसएसपी शेखर खनालले पनि एक चरणको अनुसन्धान गरी कार्यालयले थप अनुसन्धानका लागि पठाएको र त्यसमाथि काम भइरहेको जानकारी दिए। घटनाबारे आफूले हेरिनसकेको पनि उनले बताए।
खड्काको विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट