भ्रष्टाचारको आरोप खेपेका केशरजंग बराल त्रिविको २०औं उपकुलपतिमा नियुक्त

काठमाडौं– पोखरा विश्वविद्यालयको उपकुलपति छँदा भ्रष्टाचारको आरोप खेपेका प्रा.डा. केशरजंग बराल त्रिविको २०औं उपकुलपति नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका सिफारिस भएका ३ जनाबाट उनलाई नियुक्त गरिएको हो।

शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले ८ फागुनमा बरालसहित प्रा.डा. चित्रबहादुर बुढाथोकी र प्रा.डा. टंकनाथ धमलाको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो।

सिफारिस भएको पाँच दिनपछि मेरिटका आधारमा दोस्रो नम्बरमा रहेका बराल उपकुलपतिमा नियुक्त भएका हुन्। मेरिटका आधारमा पहिलो नम्बरमा बुढाथोकी र तेस्रोमा धमला थिए। त्रिविका प्राध्यापकहरूका अनुसार बराल र बुढाथोकी दुवै माओवादी निकट हुन।

बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन्। पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए। पोखरा विश्वविद्यालयमा रहँदा उनलाई भ्रष्टाचारको आरोप लागेको थियो। कलेजहरूलाई सम्बन्धन दिने क्रममा आर्थिक अनियमितता गरेको आरोप लागेका उनले यसमा सफाइ पाइसकेका छन्।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए। जसमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा थिए। प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।

व्यवस्थापन संकायका प्राध्यापक बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बराललाई नियुक्त गरिएको जनाइएको छ। उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट