मलेसियामा जीबी राईको सवा ७ करोडको अपार्टमेन्ट, सपिङ मार्ट पनि सञ्चालन

काठमाडौं– पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका १८ हजार बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी)ले ५ वर्षअघि नै मलेसियामा सवा ७ करोडको अपार्टमेन्ट खरिद गरेको खुलेको छ।

जीबीले मलेसियाको राजधानी क्वालालम्पुरस्थित देशापन्डनमा सन् २०१९ मै उक्त अपार्टमेन्ट खरिद गरेका हुन्। ती व्यवसायीका अनुसार जीबीले सन २०१९ मा २६ लाख रिङ्गिट (नेपाली ७ करोड २३ लाख ५८ हजार रुपैयाँ) मा अपार्टमेन्ट खरिद गरेका हुन्।

यस वाहेक मलेसियाकै अर्को सहर साइबरजयामा राईले एक सपिङ मार्ट समेत सञ्चालन गरेको उनी निकटका एक व्यवसायीको दाबी छ। सपिङ मार्ट अपार्टमेन्टबाट करिव ३३ किलोमिटर टाढा छ।

राई गत भदौदेखि नै मलेसिया रहेको प्रहरीको दाबी छ। राईले पोखराबाहेक काठमाडौं, चितवन र बुटवलमा समेत सहकारी सञ्चालन गरेर निक्षेतकर्ताको रकम हिनामिना गरेको खुलेको छ। उनीसहित सहकारी सञ्चालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरूद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार जीबीको लोकेट भइसकेका कारण केही दिनभित्रै उनी पक्राउ पर्ने सम्भावना छ। सूर्यदशन सहकारी ठगी प्रकरणमा १९ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।

ती मध्ये ५ जना पुर्पक्षका लागि थुनामा छन् भने १४ जना अझै फरार छन्। सहकारी ठगी प्रकरणमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत मुछिएका छन्। कास्की प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा २४ माघमा काठमाडौंको शंखमुलस्थित राईको अर्को नेचर हब्स इन्टरनेशनल प्रालिको कार्यालयमा छापा मारेको थियो। उक्त कार्यालय पूर्वडीआईजी छविलाल जोशीको घरमा छ।

प्रहरीले नेचर हब्स कार्यालयबाट सूर्यदर्शन सहकारी र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको सर्भर बरामद गरेको छ। डाटाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत पोखरा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट