सीआबीलाई बयान दिए लगत्तै श्रीलंका पुगे विनोद चौधरी

काठमाडौं– सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली काँग्रेसका सांसद विनोद चौधरी सीआईबीलाई बयान दिए लगत्तै श्रीलंका पुगेका छन्।

सीआईबीलाई बयान दिन विहिवार विहान ७ वजै नै सरकारी वकिलको कार्यालय पुगेका चौधरी त्यसपछि दिउँसो २ बजे श्रीलंका गएका हुन। श्रीलंकन एयरको युएल १८२ उडानमा उनी कोलम्बो गएको जनाईएको छ।

उनी किन गए भन्ने खुलेको छैन। चौधरीमाथि तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ। तर, आज बयान दिएर फर्किएपछि उनले उक्त आरोप अस्वीकार गर्दै अनावश्यक राजनीतिकरण गरिएको टिप्पणी गरे।

गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उनले ‘स्टन्ट’ गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक नभए पनि प्रहरीले बोलाएकाले बयान दिन गएको बताए। यसअघि बुधबार सिआइबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जनाएको थियो।

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ। सो आरोपमा सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई १८ माघमा पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएपछि २२ माघमा म्याद थपका लागि पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सकेर पेस गर्नु, नसके हाजिर जमानीमा छाड्नु भन्दै आदेश दिएपछि २४ माघमा उनीहरू हिरासतबाट मुक्त भएका थिए।

रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेपछि विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए। त्यसपछि चौधरीले ५ चैतमा बाँसबारी जग्गाबारे संसदमा स्पष्टिकरण दिएका थिए। सरकारले गरेको लिलामीमार्फत् आफूहरूले जग्गा लिएको उनको दाबी थियो।

यसअघि सिआइबीले ३ महिनाभन्दा बढी समय लगाएर गरेको अनुसन्धानमा कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको पाईएको थियो। उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट