सुस्मिताको मृत्यु प्रकरणमा प्रहरीले किन फैलायो ‘सुसाईड नोट’ को हल्ला ?

काठमाडौं– ८ दिनअघि पशुपति क्षेत्रस्थित गोरखनाथ मन्दिर नजिकैको जंगलमा मृत भेटिएकी १९ वर्षीया सुस्मिता थापाको मृत्यु प्रकरण अझै अन्यौलमा छ। अहिलेसम्मको अनुसन्धानले उनले आत्महत्या नै गरेको देखिएपनि आत्महत्याको कारण प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।

यसअघि प्रहरीले भनेको ‘सुसाइड नोट’ को कुरा पनि सत्य नभएको खुलेको छ। घटनास्थलमा भेटिएको कागज सुरुमा ‘सुसाइड नोट’ भनिए पनि खासमा सुसाइड नोट नभएको पाइएको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले बताए।

‘त्यो एउटा बुक रहेछ, जसलाई हामीले नजानेर सुसाइड नोट भन्यौ।’ उनले भने–‘बुकमा म मरेको भेटिएमा यो नम्बरमा कल गर्नुहोला भनेर मात्र लेखिएको छ।’ त्यो नम्वरमा फोन गर्दा उनकै दाइले उठाएको थेवेले बताए।

सुस्मिताको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ पनि गरेको छैन। तर, घटना अनुसन्धान गर्दै जाँदा आत्महत्या दुरुत्साहन मुद्दा चलाउन सकिने अवस्था देखिएको प्रहरीले जनाएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भएकी उनी कपनमा रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन। कोठाबाट कलेज जान्छु भनेर हिँडेकी उनी २ दिनपछि (२ चैत) मा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शवको पोस्टमार्टम र दाहसंस्कार भईसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट