३ वर्ष विदेश वसेर फिरेका लोकेन्द्रः रक्सीको तालमा कर्णाली पुलबाट हामफाले, २ दिन भयो नदीमै हराए (भीडीओसहित)
काठमाडौं– होली खेल्ने क्रममा सोमबार कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एकजना युबा अझै वेपत्ता छन्।
दिउँसोतिर पुलबाट हाम फालेका कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन्। कञ्चनपुरबाट आएर लम्की–चुहा नगरपालिका–३ मा वसोवास गर्दै आएको उनको परिवार चिसापानी बजारमा तरकारी पसल गरेर जिविकोपार्जन गर्दै आएको छ।
बुवा आमासँगै आएका लोकेन्द्र ३ वर्ष विदेशमा बसेर आएको खुलेको छ। सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही १६औं नम्वरमा हाम फालेका युवा हुन। पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको छ। मदिराले लट्ठिएर बाटोमा डिजे बजाउँदै होहल्ला गर्न थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीले उनीहरुलाई हटाएको थियो।
गाउँतिर छिरेका तिनै युवा फेरी पुलतिर लागेको खुलेको छ। प्रहरीका अनुसार शरीरको माथिल्लो भागको लुगा फुकालेर पुलतर्फ गइरहेका उनीहरूलाई प्रहरीले रोकेको थियो। तर, उनीहरु ‘हामी लोकल हौं, फोटो खिचेर फर्कन्छौं’ भन्दै पुलमा पुगेको कैलाली प्रहरीका डीएसपी कुलदीप चन्दले बताएका छन्।
उनको खोजीका लागि गोताखोरको टोली परिचालन भएको छ। मङ्गलवार बेलुकीसम्म शाही नभेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले मंगलबारको खोजी कार्य स्थगित गरेको छ। सोमबार कर्णाली नदीमा हाम फालेका मध्ये ६ जनालाई घटनाबारे सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिइएको छ।
स्थानीयका अनुसार २ वर्ष अगाडि पनि लम्कीका ३ जना युवा पुलबाट हामफाल्दा १ जनाको डुबेर मृत्यु भएको थियो। २ जनाको भने उद्वार गरिएको थियो।