राष्ट्रको पुरानो गौरव फर्काउन पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न, उठ्न र पाखुराको बलमा अघि वढ्न अपिल गरेका छन्। शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका पूर्वराजा शाहले पुरानो गौरव फर्काउनका लागि जुट्नुपर्ने आवश्यक्ता रहेको बताए।
‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ। आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ, तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ’ उनले भने–‘कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै? त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।’
उनले नयाँ समझदारी, संवाद, वार्तालाप र सर्वपक्षीय सम्मेलनको निष्कर्ष निकाल्नुपर्ने बताए। ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।’–उनले भनेका छन्।