पाठेघर सफा गर्दा ८ महिने सुत्केरीको मृत्यु, अस्पताल भन्छः ४ महिनाको भ्रुण फाल्दा मृत्यु भयो

काठमाडौं– पाठेघर सफा गर्ने क्रममा ८ महिने शिशुकी आमाको मृत्यु भएपछि सुर्खेतको विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा मृतकका आफन्तले ताण्डव मच्चाएका छन्। चिकित्सकको लापर्वाहीले किशोरीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन चर्काएका हुन।

दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी विहिवार पेट दुख्यो भन्दै हिडेर अस्पताल पुगेकी थिईन। चिकित्सकले ४ महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालको केही अंश बाँकी रहेको भन्दै अप्रेशन गर्नु पर्ने बताए। अस्पतालको भनाई मान्ने हो भने भीमाको पाठेघरमा केही महिनाको बच्चासमेत थियो।

चिकित्सकको सल्लाह अनुसार नै पाठेघर सफा गर्न तयार भएकी उनलाई दिउँसो ३ वजे एक्कासि अस्पतालले मृत घोषणा गर्यो। अस्पतालको यो घोषणाले अचम्ममा परेका आफन्तले आन्दोलन चर्काए। पाठेघर सफा गर्ने क्रममा डाक्टरले लापर्बाही गरेको उनीहरुको आरोप छ।

शुक्रबार दिउँसो अस्पताल प्रशासनसँग भएको वार्ता पनि निस्कर्षविहिन भएपछि आफन्तहरु फेरि आन्दोलनमा उत्रिएका छन्। आफन्तले ‘८ महिने शिशुको भविष्य ग्यारेन्टी गर, अस्पताल प्रमुख राजीनामा दे, हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरे।

मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले भने परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै अस्पताले रगत मगाएको र केही समयमै मृत घोषणा गरेको बताएका छन्।

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ। भ्रुण फाल्नुपर्ने भएकाले सोही क्रममा मृत्यु भएको जानकारी आएको छ’ उनले भने, ‘टेक्निकल विषयमा हामी बुझ्दैछौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट