बाटोका कारण घर भत्किएको गुनासो गर्न गएका नागरिकलाई वडाध्यक्षले रुखमा बाँधेर कुटे

विरगन्ज– पर्साको जगरनाथपुर–२ लक्ष्मीपुरमा बाटो विस्तारको काम चलिरहेको छ। यही क्रममा स्थानीय अमिर मियाँ गदीको घर बाटोमा परेको भन्दै कामको अगुवाई गरिरहेकाहरु केही भाग भत्काई दिए।
वसिरहेको घरै भत्किएपछि अमिर मियाँ वडाध्यक्षसँग दुःख विसाउन पुगे। बाटोका कारण आफनो वास उठ्न लागेको गुनासो गर्न पुगेका मियाँलाई वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले सान्त्वना दिनुको सत्ता रुखमा बाँधेर कुटेका छन्।
प्रहरीका अनुसार, बाटो विस्तारका क्रममा घरको केही भाग तोडिएपछि शुक्रबार विहान मियाँ वडाध्यक्ष कुशवाहाको घरमा पुगेका थिए। मियाँले वडाध्यक्षलाई आफनो कुरा सुनाए। तर, वडाध्यक्षले घर भत्काउनै पर्ने वताएपछि ‘अरूको घर नभत्काएको तर आफनो मात्रै भत्काएको’ भन्दै मियाँ आवेशमा आए।
त्यसपछि वडाध्यक्ष कुशवाहा र उनीसँगै रहेका ७/८ जना मिलेर मियाँलाई रुखमा बाँधेर कुटपिट गरेको स्थानीयले बताए। तर वडाध्यक्ष पक्षले भने मियाँले वडाध्यक्ष कुशवाहालाई गाली गलौज गर्दै कठालो समातेपछि नियन्त्रणमा लिएको वताएका छन्।
वडाध्यक्षका छिमेकीहरूले मियाँलाई नियन्त्रणमा लिएर रुखमा बाँधेको र केही बेरपछि जानकी टोलस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको उनीहरुको भनाई छ। तर, मियाँले भने आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष कुशवाहासहित ८ जना विरुद्ध कारबाही प्रहरीमा उजुरी दिएका छन्।
उनले वडाध्यक्ष कुशवाहा, रमेश कुशवाहा, महेन्द्र कुशवाहा, हफिज मियाँ गदी, रामु कुशवाहा, रुपेश कुशवाहा, अनिल कुशवाहा र सुरेश कुशवाहा विरुद्ध इलाका प्रहरी कार्यालय जानकी टोलामा लिखित उजुरी दिएका छन्। उजुरीपछि सवै आरोपितलाई पक्राउ गरीएको इन्स्पेक्टर मोहनविक्रम केसीले बताए।