श्रीमतीलाई बलात्कार गरेको र अप्राकृतिक मैथुन गरेको आरोप लागेका न्यायाधीश गिरी थुनामा

श्रीमतीलाई बलात्कार गरेको र अप्राकृतिक मैथुन गरेको आरोपमा निलम्बनमा परेका न्यायाधीश भुवन गिरी पुर्पक्षका लागि थुनामा पुगेका छन्। उनले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन्।
गिरीलाई सर्वोच्च अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए। सर्वोच्चका न्यायाधीश हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको २१ चैतको इजलासले गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो।
सर्वोच्चले काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतको ‘गिरीलाई धरौटीमा छाड्ने’ आदेश बदर गर्दै थुनामा पठाउन भनेपछि उनले आत्मसमर्पण गरेका थिए। गिरीलाई धरौटीमा छाड्ने आदेशबाट असन्तुष्ट उनकी श्रीमती अनशन र प्रदर्शनमा उत्रिएकी थिईन।
उनले मुद्दाको वहस चलिरहेका वेला इजलासमै विष सेवन समेत गरेकी थिईन। घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनले मंसिर ०७९ मा न्यायाधीश गिरी विरुद्धप्रहरीमा जाहेरी दिएकी थिइन्। गिरी कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश थिए।