अमेरिकामा १ लाख ४० हजारमा बिक्यो क्रिकेटर दीपेन्द्रसिंह ऐरीको जर्सी

काठमाडौं– नेपाली क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरेको अक्सनमा १ हजार ५० डलर (नेपाली रुपैयाँ १ लाख ४० हजार) मा विक्रि भएको छ। यो जर्सी क्रिस्टल कँडेलले किनेका हुन।
टेक्सास राज्यको अर्भिङ सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गर्ने क्रममा दीपेन्द्रको जर्सी अक्सनमा राखिएको थियो। दीपेन्द्रले गत साता ओमानमा भएको ‘एसीसी प्रिमियर कप’ क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका थिए।
क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्नु दुर्लभ मानिन्छ। दीपेन्द्रले ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि बनाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए। त्यस्तै सन् २०२१ मा वेस्ट इन्डिजका किरन पोलार्डले श्रीलंकाविरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।
एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए भने अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान बनाएका थिए।