रवि लामिछानेको ८ वर्षअघिको स्ट्याटस भाईरल, ‘गोताखोरी’ गरेको भन्दै असन्तुष्टि

काठमाडौं– गृहमन्त्री रवि लामिछानेको ८ वर्षअघिको एउटा फेसबुक स्ट्याटस अहिले चर्चामा छ। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सरकारले मंगलबार सार्वजनिक विदा दिएको प्रसंगमा उनको पुरानो स्ट्याटस चर्चामा आएको हो।

लामिछानेले सन २०१६ अक्टोबर २७ मा फेसबुकमा स्ट्याटस लेखेर चीन र भारतका राष्ट्रपति आउँदा सार्वजनिक विदा दिएको विषयमा खरो आलोचान गरेका थिए। ‘कतै भेटेको कुरो..’ भन्दै उनले लेखेका थिए–‘खुशी हुनुस्, भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा मात्र घोषणा गरेछन्। धन्न बाउको मुख हेर्ने दिन घोषणा गरेनछन्।’

अहिले सोही स्ट्याटस शेयर गर्दै सामाजिक सञ्जालमा लामिछानेलाई उडाउने क्रम जारी छ। यमराज मौदगली नामका फेसवुक प्रयोगकर्ताले लगेका छन्–‘आश गरेको केटो जेठाजु प-यो’ भनेजस्तो भयो । अन्य पार्टीका नेता राजनीतिमा आएपछि विवादित भए, रास्वपाका नेता चाहिँ विवादित हुँदै राजनीति छिर्दै गरेका देखिन थाले। लोकतन्त्रको शुभकामना।’

तर, उनले भने यसलाई ‘गोताखोरी’ गरेको भन्दै असन्तुष्टि जनाएका छन्। आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमै उनले असन्तुष्टि पोखेका छन्। आफ्नो बचाउ गर्दै उनले वर्षौँदेखिका गलत अभ्यास सच्याउन समय लाग्ने भन्दै विगतका कैयौँ परम्परालाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने बताएका छन्।

उनले धैर्य गरिदिन नागगरिकलाई भनेका छन्। ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन’, उनले भनेका छन्, ‘तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’

उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै परिणाम आउने बताएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट