कतारका राजा आउँदा राजदुतले यसरी छोपिदिए नेपालको लाज, अहिले पनि पसिना पुछ्दैछ परराष्ट्रको टोली

काठमाडौं– कतारका अमिर शेख तमिम विन हमाद अल थानी २ दिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किइसकेका छन्। मंगलबार दिउँसो करिव ४ बजे काठमाडौं ओर्लेका उनी भोलिपल्ट दिउँसो करिव २ बजे स्वदेश फर्किए।

थानी स्वदेश फर्किए पनि उनका कारण आएको पसिना भने परराष्ट्र मन्त्रालयका कर्मचारीहरु अहिल पनि पुछिरहेका छन्। यसको कारण हो– नेपालसँग उनलाई उपयुक्त हुने वुलुट प्रुफ कार नहुनु। परम्परा र सुरक्षाका दृष्टिकोणले राष्ट्राध्यक्ष तथा सरकार प्रमुख चढ्ने कार अनिवार्य रुपमा बुलेट प्रुफ हुन जरुरी छ।

त्यसमाथि पनि एकजना विदेशी भीभीआईपी आउँदा दुईवटा बुलेट प्रुफ कार चाहिन्छ। दुवै गाडी सँगै कुदाउनुपर्छ। कारणवश चढेको कार बिग्रिएमा अर्को कारमा राखेर अघि बढाउनु पर्छ। सुरक्षाका दृष्टिले पनि दुईवटा कार सँगै कुदाउँनु पर्छन। यसो गर्दा भीभीआईपी कुन कारमा चढेको छ भन्ने थाहा हुँदैन।

कतारलाई नेपालको अवस्थाका विषय राम्रो जानकारी छ। त्यसैले कतारका अमिरको नेपाल भ्रमणको मिति तय भएलगत्तै कतार पक्षले नेपाललाई सोधेको थियो– अमिर आउँदा चढ्ने कारको व्यवस्था ठिक छ? यो प्रश्न सोध्नुको प्रमुख कारण अमिरको हाईट पनि हो। किनकि अमिर थानीको हाइट ६.३ फिट छ।

जवाफमा परराष्ट्र मन्त्रालयले अमिर आउँदा चढ्ने सुविधा सम्पन्न कार रहेको जानकारी दिएको थियो। त्यसपछि उनी आउनु ४/५ दिनअघि कतारी टोली रेकी गर्न काठमाडौं आयो। टोलीले सवैभन्दा पहिला अमिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ओर्लेपछि उनलाई राख्ने कारको वारेमा नै जिज्ञासा राख्यो।

परराष्ट्रका अधिकारीहरुले मर्सिडिज बेन्ज देखाए। यो मर्सिडिजको पुरानो मोडल थियो। उक्त कारमा कतारका अमिर सहज तरिकाले बस्न नसक्ने निष्कर्ष रेकी गर्न आएको टिमले निकाल्यो। त्यसपछि भने परराष्ट्रको टोलीलाई आपत् पर्यो। कर्मचारीको पसिना छुट्यो।

अनि राष्ट्रपति रामचन्द्र पौडेलले प्रयोग गर्दै आएको बुलेटप्रुफ कार लिमोजिन, उपराष्ट्रपति रामसहाय यादवले प्रयोग गर्दै आएको बुलेटप्रुफ ज्यागुअर, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रगोग गर्दै आएको ल्यान्डक्रुजरसम्म देखाईयो। तर कुनै पनि गाडी उपयुक्त भएनन्।

निजी क्षेत्रसँग पनि यस्तो कार नभेटिएपछि अन्तमा नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल–अन्सारीले चढ्ने गरेको कार मागियो। उनले सहजै ओके भनेपछि दुई दिन नेपाल बस्दा कतारका अमिर आफ्नै राजदूतको गाडीमा सवार भए।

स्रोतका अनुसार कतारका अमिरसँगै आएका १० जना मन्त्रीलाई भने सन् २०१६ मा कतारले नै उपहारस्वरुप दिएको मर्सिडिज बेन्ज उपलब्ध गराइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट