सप्तरी पत्रकार महासंघको भवन निर्माणमा अनियमतिता भएको आशंका, छानविन समिति गठन

राजविराज– नेपाल पत्रकार महासंघ सप्तरीको भवन निर्माण तथा जथाभावी आर्थिक सहयोग संकलन गरी अनियमितता गरेको आशंका वढेपछि छानविन समिति गठन भएको छ। आईतबार तिरहुत गाउँपालिका–५, लोहजरामा सम्पन्न शाखाको ११औं अधिवेशन एवम् साधारण सभाले समिति गठन गरेको हो।

पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष राजेश कर्ण र प्रदेश महासचिव श्याम वन्जाराको रोहवरमा छानविन समिति गठन भएको हो। अधिवेशनमा कोषाध्यक्षले प्रश्तुत गरेको आर्थिक प्रतिवेदन पास नभएपछि छानविन समितिमा गठन भएको पत्रकारहरुले वताए।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष धिरेन्द्रप्रसाद साह, महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा र पत्रकार सतिश दत्त सदस्य रहेको समितिले आर्थिक प्रतिवेदनका आधारमा सत्यतथ्य जाँच गर्ने जनाईएको छ।

अधिवेशनमा महासंघको भवन निर्माणमा अनियमितता भएको र अधिवेशनका नाममा विभिन्न स्थानीय तहबाट विभिन्न कार्यक्रम गरेको किर्ते प्रतिवेदन वुझाएर आर्थिक सहयोग लिएको विषयमा पत्रकारहरुले प्रश्न उठाएका थिए।

जानकारी अनुसार महासंघको भवन निर्माणका लागि मधेश प्रदेश सरकारले ८५ लाख रुपैयाँ महासंघलाई उपलब्ध गराएको थियो। भवन निर्माणकै क्रममा कार्यसमितिका केही पदाधिकारीले अनियमितता भएको भन्दै प्रश्न उठाएका थिए।

त्यसपछि कार्यसमितिले उपाध्यक्ष वैद्यनाथ यादवलाई छानविन गरेर प्रतिवेदन वुझाउन अनुमती दिएको थियो। उपाध्यक्ष यादवले भवन निर्माणमा अनियमितता भएको आशंका गर्दै ‘नियमनकारी निकायबाट छानविनव गराएर मात्रै ठेकेदारलाई भुक्तानी दिनु’ भनी करिव ५ महिनाअघि प्रतिवेदन वुझाएका थिए।

तर, प्रतिवेदनको मर्मविपरित कार्यसमितिका कतिपय पदाधिकारीको मिलेमतोमा गुपचुपमै रकम निकासा गरेको उपाध्यक्ष यादवले आरोप लगाएका छन्। उनले अधिवेशनमा गठन भएको छानविन समितिले त्यसको निस्पक्ष छानविन गरी महासंघका सदस्यलाई सुसूचित गर्नु पर्ने र संलग्नलाई दण्डित गर्नु पर्ने माग गरेका छन्।

यसैगरी, डाकनेश्वरी, सुरुङ्गा र राजगढ नगरपालिका तथा बलान विहुल र छिन्नमस्ता गाउँपालिकाबाट कार्यक्रम गरेको किर्ते प्रतिवेदन वुझाएर लिएको आर्थिक सहयोगका विषयमा पनि समितिले छानविन गर्नुपर्ने महासंघ सदस्यहरुको माग छ।

छानविन समितिका सदस्य धिरेन्द्र प्रसाद साहले भने अधिवेशनमा प्रश्तुत भएको आर्थिक प्रतिवेदन अनुसार चेकजाँच गरिने वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट