नविल बैंकको डेढ करोड चोर्ने एक महिलासहित ३ जना भारतमा पक्राउ, १८ लाख बरामद

वीरगन्ज– पर्साको वीरगन्जस्थित नबिल बैंकको शाखाबाट करिव डेढ करोड चोरीमा संलग्न मध्ये ३ जनालाई भारतको बिहारस्थित मोतिहारीबाट पक्राउ गरीएको छ। पक्राउ परेकाहरुको साथबाट नेपाली रुपैयाँ १८ लाख २३ हजार २ सय बरामद भएको छ।
पक्राउ पर्नेमा विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबितादेवी छन्। मोतिहारी प्रहरीका एसपी कान्तेशकुमार मिश्रका अनुसार उनीहरुले भारतमा एक जना हुन्डी कारोबारीसँग पनि ४० लाख रुपैयाँ लुटेका थिए।
विहार क्षेत्रमा भएका अन्य चोरीका घटनामा समेत उनीहरूले आफ्नो संलग्नता रहेको स्वीकार गरेको एसपी मिश्रले बताएका छन्। नबिल बैंकमा चोरी गरेर रकमसहित चोरहरू भारत पुगेका थिए। नेपाल प्रहरीले उनीहरुको खोजीमा सहयोग मागेपछि घटनाको छानबिन गर्न एसपी मिश्रले एउटा विशेष टोली नै गठन गरेका थिए।
गठित टोलीले विशेष सूचनाको आधारमा दरपा थानाबाटमा छापा मारी गरेर १७ लाख २८ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको थियो। सो क्रममा मन्टु र अर्जुन पक्राउ परेका थिए। उनीहरूकै सूचनाका आधारमा प्रहरीले सुनितालाई ९५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
यता, नेपाल प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा रौतहटको मौलापुर नगरपालिका–७ पथरा बुधरामका सन्जय जयसवाल र छोटेलाल जयसवाल पक्राउ गरेको छ। रात्रीबसमा चढेर काठमाडौं जाँदै गरेका सन्जय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार ५ जनाले मिलेर आइतबार राति बैंकबाट १ करोड ३४ लाख ६५ लाख चोरी गरेका थिए। चोरी गर्नुभन्दा पहिले उनीहरु वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा कोठा लिएर बसेको खुलेको छ। उनीहरुले छोटेलाल जयसवालका नाममा कोठा बुक गरेका थिए।
चोरहरूले बैंकको मूल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सीसीटीभीको फुटेजमा देखिएको थियो।