रङ्गेहात पक्राउ परेपछि प्रहरीले चोरलाई १ तोला सुन छेरायो…

विराटनगर– सामान्यतया चोरी गर्न जाने ब्यक्तिहरु चोरी गरी सकेपछि भाग्छन्। चोरी गर्दा गर्दै पक्राउ परे भने चोरी गरेको सामान जिम्मा लगाउँछन्। त्यसपछि सामाजिक र कानुनी रुपमा हुने सजाय चोरीको स्वभाव र चोरीको प्रकृतिले निर्धारण गर्छ।

तर, एक जना चोरले चोरी गर्न गएको घरका घरधनी र गाउँले मात्र होईन प्रहरी प्रशासनलाई समेत चकित पारेका छन्। यो घट्ना पाँचथरको फिदिममा भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्या चोरी गर्न भनेर गत २८ चैतमा घरबाट निस्किए। फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न भनेर पसे।

तर, उनी घरधनीको नजरमा परे। योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरे। प्रहरी तत्कालै विष्णुकुमारीको घरमा पुग्यो। प्रहरी पुग्नासाथ योङ्याको साथबाट १५ हजार नगद बरामद गर्यो।

तर, दराजमा भएका गरगहना मध्ये एक तोला सुन फेला परेन। योङ्याको कपडामा भएका पकेट, हात, मुखसति सम्वाभित सवैतिर खोजी गर्दा पनि सुन नभेटिएपछि उपस्थित प्रहरीलाई उनको नियत माथि शंका लाग्यो।

तत्कालै उनलाई जिल्ला अस्पताल फिदिममा लगेर एक्स–रे गरिएयो। एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। प्रहरी पुग्नु अघि नै उनले सुन निलिसकेका रहेछन्। त्यसपछि उनलाई प्रहरीले निगरानीमा राख्यो।

सुन निलेको करिब ३६ घण्टापछि उनी शौचालय गए। दिसाबाट निलेको सुन निस्कियो। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। प्रहरीले यो घट्नाको सबै अनुसन्धान पूरा गरी जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो। अदालतले गत २३ वैशाखमा योङ्यालाई १ लाख ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो। तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट