८ दिनदेखि वेपत्ता किशोरी पशुपति क्षेत्रमा भेटिईन, कसरी हराईन र कुन अवस्थामा थिईन ?
काठमाण्डौं– आठ दिनदेखि काठमाडौंमै वेपत्ता भएकी इञ्जिनियरिङ कलेजकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन्। परिवारको सहयोगमा प्रहरीले मन्दिरको आरतीस्थलमा उनलाई फेला पारेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार स्नेहा कसरी हराईन र ८ दिनसम्म कुन अवस्थामा थिईन भन्ने पत्ता लागि सकेको छैन। १९ वैशाखदेखि हराएको उनको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।
चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि उनी लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेकी थिईन। उनी सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत थिइन्।
परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएकी थिईन। त्यस लगत्तै उनी सम्पर्कविहीन भएको उनको परिवारले बताएको छ।
उनी हराएपछि परिवारले भोलिपल्टै प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको खुलेको थियो।
स्नेहाको हराएपछि मोबाइल पनि स्वीच अफ थियो।