कोशीमा हिक्मतको ह्याट्रिकः प्रदेश प्रमुखको निर्णय विरुद्ध निवर्तमान मुख्यमन्त्री सर्वोच्चमा

विराटनगर– कोशी प्रदेशमा सरकार परिवर्तन भएको छ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदको समर्थन पाएपछि प्रदेश प्रमुख परशुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन। प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आह्वान गरेपछि आज बिहान कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भएपछि प्रदेश खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे। कार्की सात महिनापछि मुख्यमन्त्रीमा दोहोरिएका हुन। कार्कीको शपथ आजै हुनेछ।

प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनाका बीचमा कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बनेका हुन्। प्रदेश संसदको एकै कार्यकालमा संविधानका तीन वटा धाराबाट मुख्यमन्त्री बनेको रेकर्ड बनाउन सफल भएका कार्की पहिलोपटक संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार प्रमुख बनेका थिए।

दोस्रोपटक सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका उनी यसपटक उपधारा ५ अनुसार सत्तामा फर्किएका हुन्। तेस्रोपटक सरकार प्रमुखको जिम्मेवारीमा पुगेका कार्कीले प्रदेश सरकारलाई स्थिर बनाउन प्रयास गर्ने बताए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ मा मुख्यमन्त्री नियुक्त केदार कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिन पूरा भएको, त्यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा वैशाख ७ मा प्रदेश सभाबाट पारित मुख्यमन्त्री विरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरेका थिए।

प्रदेश सभाको दोस्रो कार्यकालको अहिलेसम्म कोशीमा ६ वटा सरकार बनिसकेका छन्। तीमध्ये तीन वटा सरकारको प्रमुख एमाले नेता कार्की नै बने।

कार्कीकालाई मुख्यमन्नत्री बनाईपछि निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट