हक्कीको बलले लागेर रामभरोषको आँखा फुट्योः नत उपचार खर्च पाए, नत क्षतीपूर्ति

जनकपुर– एक महिनाअघि हक्कीको बलले आँखा फुटेका धनुषाको मिथिला नगरपालिका–६ का ५१ वर्षीय रामभरोस महतो अहिले न्यायका लागि भौंतारिन थालेका छन्। गत ११ फागुनमा ढल्केवर चोकमा हक्की खेलाडीले हानेको बलले उनको बायाँ आँखामा लागेको थियो।

‘मदन भण्डारी स्पोर्टस् एकेडेमी’ का १४ वर्षीया जागृति यादवले हानेको बलले सडकमा हिडिरहेका महतोको आँखामा लागेको थियो। चोटका कारण उनको आँखाको ज्योति गुमेको चिकित्सकहरुले बताएका छन।

उनले उपचार र क्षतिपूर्तिका लागि प्रहरीमा निवेदन दिएका छन्। त्यस वेला एकेडेमीका सचिवालय सदस्य नन्दु काउचाले प्रहरीसमक्ष उपचार गराइदिने प्रतिबद्धता जनाएका थिए। तर, अहिले सहमति कार्यान्वयन नभएपछि उनी सवैतिर हारगुहार गरिरहेका छन्।

उपचारमा ४० हजार रुपैयाँ खर्च भएको तर, एकेडमीले आफुलाई ८ हजार रुपैयाँ मात्रै दिएको उनले गुनासो गरे। उनले आफनो आँखा फुटाउनेलाई कानून बमोजिमको कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

जानकारी अनुसार गत १४ फागुनमा धनुषाको महेन्द्रनगरमा आयोजित ‘प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता’ मा सहभागी हुन खेलाडीहरु १० फागुनदेखि नै जम्मा भएका थिए। खेलाडीहरुलाई ढल्केवरको श्रीराम होटलमा राखिएको थियो।

११ फागुनमा बिहान ६ बजे सदाझै रामभरोस दुध पु¥याउन साईकलमा निस्किका थिए। ढल्केवरस्थित एक होटलको अगाडि हक्की अभ्यास गरिरहेका खेलाडीले प्रहार गरेको बल उनको आँखामा लाग्यो। आँखाबाट रगत बग्यो। खेलाडी मध्येकै एक जनाले उनलाई ढल्केवरस्थित आँखा अस्पताल पु¥याए।

चिकित्सकले ‘लहान आँखा अस्पताल’ का लागि रिफर गरिदिए। रामभरोसलाई मोटरसाइकलमै राखेर लहान पु¥याईयो। दुई दिनसम्मको परिक्षणपछि उनको आँखाको उपचार हुन नसक्ने निष्कर्ष आयो।

उपचार नहुने टुंगो भएपछि रामभरोसले खेलाडीलाई कारबाही गरी आफूलाई क्षतिपूर्ति दिलाइदिन इलाका प्रहरी कार्यालय ढल्केवरमा जाहेरी दिएका छन्। प्रहरीले आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमीका पदाधिकारीलाई बोलायो।

अध्यक्ष आचार्य एउटा टोली नै लिएर प्रहरीमा गए। ठुलो अस्पतालमा उपचार गराउने प्रतिबद्धता जनाउँदै लिखित सहमति गरे। तर, नत उपचार भयो। नत क्षतिपूर्ति नै पाए। अहिले उनी न्याय खोज्दै भौतारिँदै हिडेका छन्।

इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर राजकिशोर साहले पीडित पक्षसँग गरेको सहमतिअनुसार पीडकले क्षतिपूर्ति तिर्नुपर्ने बताए। त्यसका लागि आफुले पहल गरिरहेको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट