बैंक लुटेराद्वारा मारिएका सुरक्षा गार्ड फुयालको त्रियुगा आर्यघाटमा अन्त्येष्ठी, आरोपी अझै फरार

राजविराज– लुटेराको आक्रमणमा मारिएका सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयालको आज अन्त्यष्ठी गरिएको छ।

सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट मार्टमपछि शुक्रबार बेलुकै उनको शव सप्तकोशी नगरपालिका–२ स्थित घरमा ल्याईएको थियो। शनिवार विहान त्रियुगा नदी स्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

५६ वर्षीय फुयाँल बिहीबार विहान बैंकमै मृत फेला परेका थिए। उनको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले जनाएको छ। नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्ड रहेका उनको जिउमा खुकुरी प्रहार गरेको चोट र शवको वरिपरी रगतका टाटा फेला परेको थियो।

सोही बैंकका अर्का सुरक्षा गार्ड कर्ण थापाका अनुसार विहान ७ वजेसम्म पनि गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीलाई शंका लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालका अनुसार लुटपाट गर्ने उद्देश्यले उनको हत्या भएको देखिएको छ। बैंकको सीसीटीभी फुटेज हेर्दा राति करिब १२ बजेपछि नकावधारी एक जना ब्यक्ति बैंकभित्र पसेर हत्या गरेको देखिन्छ। फुयालको लुटेरासँग निकैबेर मुडभेड भएको फुटेजमा देखिएको जनाईएको छ। हत्या गरी बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैंकले जनाएको छ।

थप अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको छ। यद्यपी आरोपित पत्ता लाग्न सकेको छैन। मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट