ट्याक्सी चालकको घाँटी रेटेर हत्या, छोरा र छोरी दुवै पक्राउ
काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत फेला परेका ब्यक्तिको पहिचान भएको छ। मृतक भक्तपुर नगरपालिका–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नगरकोटीको शव मंगलबार बिहान मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो। उनको शव नजिकै दुईवटा ब्लेडसमेत फेला परेको थली प्रहरीले बताएको छ।
कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेका नगरकोटीको घाँटीमा धारिलो हतियारले काटिएको छ। कृष्ण ट्याक्सी चालक भएको खुलेको छ। साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको पहिचान खुलेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा फेला पारी पक्राउ गरेर टेकुमा ल्याएको छ। यसैगरी, छोरीलाई बबरमहलबाट पक्राउ गरेको छ।
मृतकका भाइ सहकुलका अनुसार छोरालाई स्थानीयले हिजै राति चाल्नाखेलको जंगलमा फेला पारी प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नै उनको उद्धार गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार घटना रहस्यमय देखिएको छ।