कैलाश सिरोहिया पक्राउ पर्दा अमेरिका रिसायो, प्रचण्ड भन्छन्ः बढ्ता हो–हल्ला जरूरी छैन

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत् आफनो धारणा व्यक्त गरेको छ।
दूतावासले स्पष्ट रुपमा सिरोहिया प्रकरणमा नवोलेपछि सांकेतिकरूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि जनाएको छ।
दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।’
यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्। काठमाडौंको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा जबाफ दिएका दाहालले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको बताए।
‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले। बढ्ता हो–हल्ला गर्न जरूरी छैन।’ उनले भने। गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रूपमै आउनु भयो भन्ने आरोप छ नि! भन्ने प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री दाहालले ‘त्यो मान्छेहरूले भन्ने कुरा हो’ भन्दै कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिए।
सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो। सिरोहियालाई म्याद थप गर्ने तयारी भइरहेको छ।