बजेट अर्थमन्त्री र उनको दल जस्तै देखियोः केपी ओली
काठमाडौं– सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दल जस्तै देखिएको टिप्पणी गरेका छन्। आँखा चिम्मेलेर सरकारका काम कारवाहीको समर्थन गर्दै आएका ओलीले वजेटमा भने असन्तुष्टि ब्यक्त गरेका हुन।
शनिबार एमाले संसदीय दलको बैठकलाई बोल्दै उनले सरकारले सत्ता सहयात्री दलसँग छलफलै नगरी बजेट ल्याएको वताए। ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ’ उनले भने–‘रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखियो।’
बजेटले समाजवाद उन्मुख देशको नीति समाउन नसकेको ओलीले आरोप लगाए। ‘हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो। अलि अन्योलग्रस्त देखिन्छ।’– ओलीले भने।