तस्करीको लाईन खुलाउन आएका भारतीय ब्यापारी वीरगन्जमा पक्राउ, प्रहरीको वदनाम गरेको आरोप

वीरगन्ज– प्रहरी प्रशासनलाई कमिशनको लोभ देखाएर नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको लाईन खुलाउन आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन्। सीमावर्ती भारतीय बजार रक्सौल निवासी मुख्तार अलीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।
आफुपनि तस्करीमा संलग्न मुख्तार लाईन खुलाउन पर्साको अमरपट्टी प्रहरी चौकीमा पुगेका थिए। प्रहरीको वद्नाम गर्दै गैरकानुनी रुपमा सामान ओसार–पसार र अन्य ब्यापारीसँग हप्ता असुलीमा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
पछिल्लो समय उनले एसपी र क्राइम टोलीसँग ‘सेटिङ’ मिलिसकेको दावी गर्दै अवैध कारोबारमा संलग्नहरुसँग पैसा असुल्दै आएका थिए। उनले प्रहरीलाई गुमराहमा पारेर आफु समेत कपाडा र किराना सामान ओसार पसार गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीलाई ‘नाकाबाट सामान पास हुँदैछ’ भन्ने गलत सूचना दिएर अर्को नाकाबाट सामान पास गराउन उनी सकृय थिए। एकातर्फ प्रहरी ब्यस्त भएपछि अर्कोतर्फबाट सामान ओसार पसार गराउन उनी पोख्त थिए।
हरेक प्रहरी युनिटमा जाने अनि त्यो भन्दा माथिल्ला युनिटमा कुरा मिलिसकेको छ भन्दै उनले प्रहरीलाई लाईन खोल्न दबाब दिने गरेको समेत खुलेको छ। मुख्तार विगतका मिटरब्याजी पनि हुन। उनले कतिपय प्रहरी कर्मचारीको पैसा मिटर ब्याजमा लगाउने गरेको खुलेको छ।