शान्तिसेनाबाट फर्किएका सेनाका जवानले श्रीमतीलाई अर्कैको अंगालोमा भेटेपछि खुकुरीले छप्काए

काठमाण्डौं– दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ राप्तीटोलस्थित कोठामा श्रीमती २७ वर्षीया टिकाको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार ३६ वर्षीय शालिकराम वुढाथोकीलाई प्रहरीले तुलसीपुरबाटै पक्राउ गरेको छ।
स्थानीयका अनुसार शुक्रबार बिहान करिव पौने ९ बजे खुकुरीले हानेर श्रीमतीको हत्या गरेपछि उनी खुकुरी बोकेरै भागेका थिए। घट्नाको जानकारी पाएको प्रहरीले उनलाई तुलसीपुरको बाहिनी चोकबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार कपुरकोट ६ सल्यान घर भएका वुढाथोकी नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार हुन। उनी तुलसीपुर–६, राप्तीटोलका गोकर्ण चन्दको घरमा डेरा गरेर वसेका थिए।
शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने शालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छन्। पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्।